धनगढी: कैलालीमा प्रहरीले ‘स्विप अपरेसन’ चलाएको छ । ९ वैशाखदेखि थालिएको स्विप अपरेसनअन्तर्गत तीन दिनको अवधिमा १६९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूमध्ये ९३ जनालाई सोधपुछपछि छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार अन्य पक्राउ परेकाहरू विभिन्न कसुरका आरोपित छन् । ‘स्विप अपरेसनमा ३९ जना लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा लिइएको छ,’ उनले भने, ‘२३ जनालाई लागुऔषधसहित पक्राउ गरिएको छ ।’ २३ जनाको साथबाट १७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर, १ ग्राम ३०० मिलिग्राम चरेस, नाइट्रोजेपाम १७७ ट्याब्लेट, ट्रामाडोल २०० पिस र १७ ग्राम गाँजा बरामद गरिएको डीएसपी तिमिल्सिनाले जानकारी दिए ।
सोही अपरेसनअन्तर्गत नै अदालतबाट सजाय पाएर फरार रहेका १० जना प्रतिवादीलाई पनि पक्राउ गरिएको छ । पक्राउ परेका चार जना भने चोरीमा संलग्न छन् ।


