धनगढी: धनगढी उपमहानगरपालिकामा नयाँ शैक्षिक संस्था ‘उजालो शिक्षा स्कुल’ सञ्चालनमा आएको छ। उपमहानगरपालिका वडा नम्बर ४ स्थित शिवपुरीधाम नजिकै स्थापना गरिएको उक्त स्कुल औपचारिक रूपमा उद्घाटनसँगै सञ्चालनमा आएको हो। लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएका शिक्षाविद् रामचन्द्र शाहीको नेतृत्वमा स्कुल सञ्चालनमा ल्याइएको हो।
स्कुलको उद्घाटन प्याब्सनका केन्द्रीय उपाध्यक्ष ललित पन्तले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै पन्तले धनगढीका अभिभावकहरूको नयाँ रोजाइका रूपमा उजालो शिक्षा स्कुल स्थापित हुने विश्वास व्यक्त गरे। अनुभवी व्यक्तिको नेतृत्वमा सञ्चालनमा आएको यो संस्था विद्यार्थीहरूको शैक्षिक भविष्य निर्माणमा कोशेढुङ्गा सावित हुने उनले बताए। “अनुभव र समर्पणले चलाइएको शैक्षिक संस्था सधैं प्रभावकारी हुन्छ। उजालो शिक्षा स्कुलले यहाँका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनेमा म विश्वस्त छु,” पन्तले भने।
कार्यक्रममा ऐश्वर्या बहुमुखी क्याम्पसका पूर्व प्रमुख धर्मदेव भट्टले पनि स्कुलको अवधारणा र उद्देश्यको प्रशंसा गरे। उनले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य निकै सराहनीय भएको बताए। विभिन्न क्षेत्रमा अनुभव बटुलेका तथा धनगढीमै लामो समय विद्यालय सञ्चालन गरिसकेका व्यक्तिले पुनः शिक्षा क्षेत्रमा लगानी गर्नु सकारात्मक संकेत भएको उनको भनाइ थियो। “सबै वर्गका अभिभावकले आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउन सकून् भन्ने उद्देश्यले मध्यम शुल्कमा स्कुल सञ्चालन गर्नु प्रशंसनीय पहल हो,” भट्टले बताए।
स्कुलका अध्यक्ष रामचन्द्र शाहीले मध्यम शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित विद्यालय सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार हाल पिजीदेखि कक्षा ३ सम्म अध्यापन सुरु गरिएको छ भने आगामी वर्षहरूमा थप कक्षाहरू विस्तार गरिने योजना रहेको छ। विद्यालयमा पूर्ण रूपमा मन्टेश्वरी पद्धतिमा शिक्षण गरिने, कक्षाकोठा आधुनिक प्रविधियुक्त बनाइने तथा विद्यार्थीको सुरक्षा र सुविधा सुनिश्चित गर्न एसी र सिसी क्यामेरा जडान गरिने उनले बताए। सामान्य परिवारका बालबालिकाले पनि सहज रूपमा बोर्डिङ स्कुलमा अध्ययन गर्न सकून् भन्ने उद्देश्यले शुल्क संरचना मध्यम राखिएको उनको भनाइ छ।
“हामीले सबै वर्गका बालबालिकालाई गुणस्तरीय शिक्षा दिन चाहेका छौं। सुविधा सम्पन्न संरचना र अनुभवी शिक्षकमार्फत विद्यार्थीको समग्र विकासमा जोड दिइनेछ,” शाहीले बताए। उजालो शिक्षा स्कुलले गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार र विद्यार्थीमैत्री वातावरणमार्फत धनगढी क्षेत्रको शैक्षिक क्षेत्रमा नयाँ विकल्पका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।


