धनगढी: कैलालीमा नेपाल कम्युनिस्ट पार्टी को स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेकपा एमाले कैलालीले स्थापना दिवसको अवसरमा श्रद्धाञ्जली तथा सामाजिक सेवा सम्बन्धी कार्यक्रम आयोजना गरेको हो। आज बिहान धनगढीस्थित पार्टी कार्यालयमा पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ सहित दिवंगत नेताहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो। कार्यक्रममा पार्टी प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, सचिव रणबहादुर चन्द र जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गाना, नेता नारदमुनी राना लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
त्यसपछि स्थापना दिवसकै अवसरमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल मा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो। कार्यक्रमका क्रममा कैलाली अध्यक्ष यज्ञराज ढुङ्गानाले स्थापना दिवसले कम्युनिस्ट आन्दोलनको ऐतिहासिक योगदानलाई स्मरण गराउने उल्लेख गर्दै जनताको सेवा र समाज रूपान्तरणका लागि पार्टी अझ सक्रिय भएर लाग्नुपर्ने बताए। उनले पार्टीले स्थापनाकालदेखि उठाउँदै आएको समानता, सामाजिक न्याय र जनअधिकारको एजेन्डालाई वर्तमान सन्दर्भमा अझ सशक्त रूपमा अगाडि बढाउन आवश्यक रहेको पनि धारणा राखे।


