बझाङ — नेपाल टेलिकमको मोबाइल नेटवर्कले काम नगर्दा बझाङका सेवाग्राहीले हैरानी खेप्नु परेको छ । नेटवर्कमा दुई महिना अघिदेखि समस्या आइरहेको भए पनि अहिलेसम्म सुधार हुन सकेको छैन । फागुन पहिलो सातातिरबाट बझाङमा टेलिकमको नेटवर्कले राम्रोसँग काम गर्न छोडेको हो ।
फोन सम्पर्क नभएर कल काटिने, फोन गर्दा घण्टी नजाँदै रिसिभ हुने, फोन लागे पनि एकोहोरो मात्रै आवाज सुनिने जस्ता समस्या टेलिकमक मोबाइल प्रयोगकर्ताले भोगिरहेका छन् । यस्तै एउटा नम्बरमा फोन डायल गर्दा अर्को नम्बरमा कल जाने, फोन काट्दा लामो समयसम्म डिस्कनेक्ट नहुने, टेलिफोनको नेटवर्क देखाउने तर काम नगर्ने, कल आउँदा रिसिभ नै नहुने समस्याले सेवाग्राही हैरान भएका छन् । ‘गाउँमा त फोन नलाग्ने समस्या छदै थियो । अहिले सदरमुकाममा पनि भनेको बेला फोन लाग्दैन,’ सदरमुकाम चैनपुरमा डेरा गरी बस्ने तलकोट गाउँपालिकाकी आशा जेठाराले भनिन्, ‘नेटवर्कले राम्रोसँग काम गर्न छोडेको दुई महिना भैसक्यो ।’
उनले भनेको बेला फोन नलाग्दा सदरमुकामभित्रै पनि हिँडेर खबर पठाउन जानु परिरहेको गुनासो गरिन् । यसअघि पनि ठूलो पानी, हिउँ पर्दा वा हावाहुरी चल्दा केहीबेर नेटवर्कमा समस्या देखिने गरेको थियो । ‘अहिले त चौविसै घण्टा नेटवर्क डिस्टर्ब भएको छ,’ अर्का प्रयोगकर्ता केशवराज जोशीले भने, ‘मुस्किलले फोन लागि हाले पनि कहिले उताबाट बोलेको यता सुनिदैन, कहिले यता बोलेको उता नसुनिने भएको छ ।’ चैनपुरमा व्यापार गरिरहेका उनले नेटवर्कले काम नगर्दा दैनिक व्यापार व्यवसायमा पनि असर परेको सुनाए ।
लामो समयदेखि नेटवर्कमा समस्या देखिए पनि सुधारको प्रयास नगरेकोप्रति पनि सेवाग्राहीले गुनासो पोख्ने गरेका छन् । ‘यो समस्या भएको दुई महिना भन्दा बढी भैसकेको छ । अझैसम्म सुधार भएको छैन,’ यो समस्याबारे गुनासो गर्न टेलिकमको कार्यालय पनि पुगिसकेको बताउने उनले भने, ‘प्राविधिक समस्या छ । बझाङ मात्रै नभएर सुदूरपश्चिमका धेरै जिल्लामा यस्तो भएको छ भन्छन् । प्राविधिक समस्या भए अहिलेसम्म किन समाधान भएन रु ।’ उनले टेलिकमको बझाङ कार्यालयले तीन साताअघि नै समस्याको समाधानका लागि केन्द्रीय कार्यालयले पहल गरिरहेको बताए पनि अहिलेसम्म अवस्था उस्तै रहेको बताए ।
फोनको नेटवर्कले काम नगर्दा दूरदराजका बस्तीका स्थानीयले झन् समस्या खेप्नु परेको छ । ‘कोही विरामी पर्यो । आपतविपत पर्यो भने पनि मान्छे पठाएर खबर गर्नुपर्ने अवस्था छ,’ सूर्माका भीम बोहराले भने, ‘कसैलाई अस्पताल लैजानु पर्यो भने दुईरतीन घण्टा हिँडेर गाडी बोलाउन जाँदासम्म विरामीको ज्यान तलमाथि भए कसले जिम्मेवारी लिने ?’
नेपाल टेलिकम बझाङका कार्यालय प्रमुख बमबहादुर सिंहले समस्याको बारेमा क्षेत्रिय र केन्द्रीय कार्यालयसम्म जानकारी गराइसकेको बताए । ‘हामीसँग भएको जनशक्ति र प्रविधिले भ्याउने जति कोशिष गर्दा पनि सुधार गर्न नसके पछि समस्याको बारेमा माथिल्ला कार्यालयमा जाहेर गरिसकेका छौं,’ उनले भने, ‘पटक पटक लिखित र मौखिक रुपमा पनि भनेका छौ । देशभरी नै यस्तो समस्या छ । सुधारको प्रयास गर्दै छौं भन्ने जवाफ आएको छ ।’
उनले सेवाग्राहीको चाप बढी भएका कारण यस्तो समस्या सृजना भएको हुन सक्ने बताए । टेलिकमले यसै आर्थिक वर्षमा मात्रै थप सात वटा नयाँ टावर जडान गरी संचालनमा ल्याएको थियो । यद्यपि सबै टावरहरुमा विद्युत आपुर्ति हुन नसकेका कारण पनि यस्तो समस्या आउने गरेको बताए । बझाङ जिल्लाभरी अहिलेसम्म नेपाल टेलिकमले २६ वटा टावर जडान गरेको छ । साइपाल, खप्तडछान्ना, तलकोट, थलारा, सुर्मा, वित्थडचिर, दुर्गाथली, केदारस्यूँ, छबिसपाथिभेरा, मष्टा गाउँपालिका, तथा बुंगल र जयपृथ्वी नगरपालिकामा रहेका टावरमा नियमित विद्युत आपुर्ति हुन नसकेका कारण पटक पटक नेटवर्कले राम्रोसँग नगर्ने गरेको टेलिकमका कर्मचारीहरु बताउँछन् । कान्तिपुरबाट


