डोटी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले विकासका नाममा सामाजिक सञ्जालबाट भ्रम फैलाएर विकास नहुने बताएकी छन् । १६ औं डोटी जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उद्घाटन समारोहमा बोल्दै राज्यमन्त्री खड्काले प्रदेशको समग्र विकासमा प्रदेश सरकार इमानदार भएर काम गरिरहेको दाबी गरिन् ।
‘हामी प्रदेशको विकासका लागि अहोरात्र खटेका छौं । तर सोचे अनुसारको विकास अझै हुनसकेको छैन,’ राज्यमन्त्री खड्काले भनिन्, ‘तर सामाजिक सञ्जालबाट भ्रम फैलाएर विकास हुने पनि होइन् ।’ विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य र समन्वय हुनु जरुरी रहेको पनि उनले बताइन् ।
अहिलेको प्रदेश सरकारले पूर्ववर्ती सरकारहरूका राम्रा कामको निरन्तरता र कमीकमजोरी हटाएर काम गरिरहेको पनि उनको दाबी छ । ‘हामी प्रदेशमा कुनै पनि खालको अनियमितता हुन दिन्नौं । यदि कसैले योजना बेचेको सूचना पाउनु भयो भने कृपया जुनसुकै माध्यमबाट पनि हामीलाई खबर गर्नुहोला,’ उनले भनिन् ।
युवाहरूमाझ आश्वासन बाँडेर अहिले संघमा नयाँ जनादेशअनुसार सरकार बनेको बताउँदै उनले चुनावका बेला दिएका आश्वासन पूरा हुन्छन् कि हुन्नन् हेर्नुपर्ने बताइन् ।


