धनगढी — जिल्ला प्रहरी कार्यालय कैलाली ले चैत महिनाभरि जिल्लामा भएका अपराध, शान्ति सुरक्षा तथा प्रहरी गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्यांकअनुसार सो अवधिमा विभिन्न प्रकृतिका कुल २०३ वटा अपराध दर्ता भएका छन्।
प्रहरीका अनुसार ज्यान सम्बन्धी १८, आत्महत्या २८, चोरी ४, संगठित तथा आर्थिक अपराध ९३, सामाजिक अपराध २६, महिला तथा बालबालिका सम्बन्धी १८, सवारी ज्यान १४ र अन्य २ वटा मुद्दा दर्ता भएका छन्। जघन्य तथा गम्भीर अपराधअन्तर्गत कर्तव्य ज्यान १, हातहतियार २, बैंकिङ कसुर ३०, जुवातास ५ र ठगी १७ घटना दर्ता भएका छन्।
चालू मुद्दाका १९२ जना प्रतिवादी पक्राउ परेका छन् भने ५८ जना अझै फरार छन्। ९४ पेण्डिङ मुद्दामध्ये ४ वटा फर्छ्यौट गरिएको प्रहरीले जनाएको छ। फैसला कार्यान्वयनतर्फ ६९ जना पक्राउ परेका छन्, जसबाट १५ वर्ष कैद र ७ लाख ६७ हजार ५१५ रुपैयाँ जरिवाना असुल गरिएको छ।
घरेलु हिंसाका ३५ उजुरीमध्ये ३७ वटा मिलापत्र भएका छन् भने अदालत पठाइएको छैन। हराएका ५४ जनामध्ये ५५ जना फेला पारिएको उल्लेख गरिएको छ। लागूऔषधतर्फ ३७ मुद्दा दर्ता भई ५४ जना पक्राउ परेका छन्। प्रहरीले गाजाँ, चरेश, खैरोहिरोइन र ट्याबलेट बरामद गरेको छ। आत्महत्याका २८ घटनामध्ये अधिकांश झुण्डिएर गरिएको तथ्यांकमा उल्लेख छ।
चैत महिनामा प्रमुख घटनाहरूमा १ कर्तव्य ज्यान, ५ ज्यान मार्ने उद्योग, २५ आत्महत्या, ३७ लागूऔषध, ३० बैंकिङ कसुर र २ साइबर अपराध समावेश छन्। अपराध न्यूनीकरणका लागि प्रहरीले २३९ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसमा लागूऔषध, ट्राफिक नियम, आत्महत्या रोकथाम, लैंगिक हिंसा र साइबर अपराध सम्बन्धी कार्यक्रम समावेश छन्।
शान्ति सुरक्षातर्फ ४२०९ पटक प्रहरी परिचालन गरिएको छ भने २१ वटा आन्दोलनमा प्रहरी खटिएको थियो। ७५ सवारी दुर्घटनामा ११ जनाको मृत्यु र १०४ जना घाइते भएका छन्। राजश्व चुहावट नियन्त्रणतर्फ करिब ५२ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको छ भने अवैध मदिरा १,६५३ लिटर नियन्त्रणमा लिइएको छ। विपद् व्यवस्थापनतर्फ ५२ घटनामा १ जनाको मृत्यु र १२ जना घाइते भएका छन्।
यसैबीच समुदाय तथा विद्यालय केन्द्रित २३९ कार्यक्रम सञ्चालन गरी ६ हजारभन्दा बढी नागरिकलाई सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ। प्रहरी कार्यालयको हटलाइनमा ७,७४७ कल आएका छन् भने ४,७५३ जना सेवाग्राहीले सेवा लिएका छन्। प्रहरी प्रवक्ता योगेन्द्र तिमिल्सिनाले “अपराध नियन्त्रण, अनुसन्धान र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै काम गरिएको छ। जनचेतनामूलक कार्यक्रम र प्रभावकारी परिचालनका कारण अपराध न्यूनीकरणमा सकारात्मक परिणाम देखिएको छ,” बताएका छन्।


