धनगढी: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारको सय दिने कार्यसूचीमा निजी क्षेत्रका मुद्दा समेटिनु सकारात्मक सन्देश भएको बताएका छन्। उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेशको नवौँ प्रदेशसभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। अध्यक्ष ढकालले निजी क्षेत्रमा पछिल्लो समय देखिएको निराशा कम गर्न सरकारका यस्ता पहलहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। निजी क्षेत्रका लागि स्थिर सरकार आवश्यक हुने उल्लेख गर्दै उनले वर्तमान सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने संकेत दिएको बताए।
उनले निजी क्षेत्रले प्रस्तुत गरेका आर्थिक सुधारका सुझावहरूलाई सरकारको कार्यसूचीमा समावेश गर्नु स्वागतयोग्य कदम भएको बताए। यसले लगानीमैत्री वातावरण निर्माण गर्न मद्दत पुग्ने र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने उनको भनाइ थियो। ढकालले निजी क्षेत्रमा देखिएको निराशा विस्तारै कम हुँदै जाने विश्वास व्यक्त गर्दै स्थिर सरकारको उपस्थितिले व्यवसायीहरूलाई काम गर्न सहज हुने उल्लेख गरे। उनले सरकार र निजी क्षेत्रबीच सहकार्य अझ सुदृढ बनाउँदै आर्थिक विकासमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।
यसैगरी, आफ्नो कार्यकालमा निजी क्षेत्रका हकहितका लागि सरकारसँग निरन्तर पहल गरेको उल्लेख गर्दै उनले विभिन्न नीतिगत सुधार तथा विधान संशोधनका कामहरू अघि बढाइएको जानकारी दिए। महासंघ निर्वाचन केन्द्रित हुँदै गएकोप्रति संकेत गर्दै उनले अबको नेतृत्वले समग्र निजी क्षेत्रलाई माथि उठाउने दिशामा केन्द्रित हुनुपर्ने धारणा राखे। अध्यक्ष ढकालले निजी क्षेत्रको मनोबल उच्च बनाउँदै उत्पादन, रोजगारी सिर्जना र आर्थिक समृद्धिमा योगदान गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको औंल्याए।


