धनगढीः श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राई ९हर्क साम्पाङ० दार्चुलामा पुल निर्माण गर्ने उद्देश्यसहित सुदूरपश्चिम पुगेका छन्। सोमबार बिहान काठमाडौँबाट प्रस्थान गरेका उनी धनगढी विमानस्थल पुगेपछि त्यहाँबाट दार्चुलातर्फ अघि बढेका हुन्। धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले दार्चुलामा निर्माण हुन लागेको पुलका लागि सबैलाई श्रमदानमार्फत सहभागी हुन आह्वान गरे। उनले उक्त पुल नेपाली भूभागभित्रै निर्माण गरिने स्पष्ट पार्दै सकेसम्म छिटो काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए।
साम्पाङले आफ्नो श्रमदान अभियानमा लाखौँ मानिसहरू जोडिएको दाबी गर्दै दार्चुलामै आवश्यक सामग्री खरिद गरेर स्थानीय स्तरमै श्रमदानमार्फत पुल निर्माण गरिने जानकारी दिए। उनले यो अभियान कुनै राजनीतिक उद्देश्यले नभएको उल्लेख गर्दै सुदूरपश्चिम क्षेत्रमा अहिलेसम्म श्रमदानको अभ्यास कम भएकाले अब त्यसको सुरुवात गर्न लागिएको बताए।
यसअघि सोमबार बिहानै सामाजिक सञ्जालमार्फत उनले आफू दार्चुलातर्फ श्रमदानका लागि निस्किएको जानकारी दिँदै सबैलाई सहभागी हुन आग्रह गरेका थिए। उनले लेखेका थिए, “म त लागेँ है दार्चुला१ आउनु है श्रमदान गरेर पुल बनाउन१ विदेशी ऋण किन लिनेरु म त लागेँ१”
उल्लेखनीय रूपमा, निर्वाचित भएपछि नै उनले दार्चुलामा पुल निर्माण गर्ने घोषणा गरेका थिए। सोही योजनाअनुसार उनले यसअघि नै उक्त क्षेत्रमा प्राविधिक टोली पनि पठाइसकेका छन्।


