धनगढी — आगामी शैक्षिक सत्र २०८३ सुरु हुनुअघि नै विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशभर पाठ्यपुस्तक वितरण कार्य तीव्र बनाइएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले दुर्गम जिल्लालाई प्राथमिकतामा राख्दै धमाधम पुस्तक ढुवानी तथा बिक्री वितरण गरिरहेको जनाएको छ। केन्द्रका अनुसार सुदूरपश्चिमका हिमाली तथा दुर्गम जिल्ला बाजुरा र दार्चुलामा आवश्यक सबै पाठ्यपुस्तक पुर्याइसकिएको छ। त्यस्तै बझाङ, अछाम, बैतडी र डोटीमा समेत पुस्तक पठाइसकिएको र ती जिल्लामा वितरण प्रक्रिया जारी रहेको छ। डडेल्धुरामा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ भने कैलाली र कञ्चनपुरजस्ता सहज जिल्लामा पनि समयमै पाठ्यपुस्तक उपलब्ध गराउने गरी व्यवस्थापन मिलाइएको जनाइएको छ।
प्रादेशिक कार्यालय प्रमुख निर्मलकुमार यादवका अनुसार हालसम्म करिब ४ लाख थान पाठ्यपुस्तक बिक्री वितरण भइसकेको छ। “हामीले चैत १६ गतेदेखि औपचारिक रूपमा वितरण सुरु गरेका हौँ। अहिले दुर्गम क्षेत्रमा ढुवानीलाई तीव्रता दिएका छौँ, ताकि शैक्षिक सत्र सुरु हुनुअघि नै सबै जिल्लामा पुस्तक पुगोस,” उनले भने। उनका अनुसार केन्द्रले प्रदेशभरिका स्थानीय पुस्तक बिक्रेतामार्फत पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ। यसले स्थानीय स्तरमै सहज रूपमा विद्यार्थीले पुस्तक प्राप्त गर्न सक्ने वातावरण बनेको छ। चैत ३० गतेभित्र सुदूरपश्चिमका सबै नौ जिल्लामा पाठ्यपुस्तक पुर्याउने लक्ष्य रहेको उनले स्पष्ट पारे।
केन्द्रले आगामी शैक्षिक सत्रका लागि सुदूरपश्चिम प्रदेशभर करिब साढे १६ लाख थान पाठ्यपुस्तक बिक्री वितरण गर्ने लक्ष्य लिएको छ। जनक शिक्षाले कक्षा ३, ५ तथा कक्षा ६ देखि १२ सम्मका पाठ्यपुस्तक उत्पादन तथा वितरण गर्दै आएको छ। चालु शैक्षिक सत्रमा मात्र केन्द्रले यस प्रदेशमा कक्षा ३ देखि १२ सम्मका १६ लाख २९ हजार २६३ थान पाठ्यपुस्तक बिक्री वितरण गरेको थियो। जसबाट २१ करोड ९३ लाख ७३ हजार ४९४ रुपैयाँ बराबरको कारोबार भएको कार्यालयले जनाएको छ। यसले प्रदेशमा पाठ्यपुस्तकको माग उच्च रहेको पनि देखाउँछ।
पहिलो चरणअन्तर्गत चैत ३० गतेभित्रै सबै जिल्लामा आवश्यक पाठ्यपुस्तक पुर्याउने गरी काम भइरहेको केन्द्रले जनाएको छ। यदि कुनै जिल्लामा मागअनुसार पुस्तक अपुग भएमा तुरुन्तै दोस्रो चरणमा थप पुस्तक पठाइने व्यवस्था मिलाइएको छ। “हाम्रो प्रयास शैक्षिक सत्र सुरु हुनुअघि नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगोस भन्ने हो,” प्रमुख यादवले भने, “हालसम्म कुनै ठूलो अभाव देखिएको छैन, त्यसैले समयमै वितरण सम्पन्न हुनेमा हामी विश्वस्त छौँ।” यस वर्ष समयमै पाठ्यपुस्तक वितरण हुने अपेक्षासँगै विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिमा उत्साह थपिएको छ। विगतमा देखिने ढिलाइ र अभावको समस्या न्यून हुने विश्वास गरिएको छ।


