धनगढी — एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखाले आफ्नो १८औँ वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले धनगढी उपमहानगरपालिका–१ मा सञ्चालनमा रहेको सरस्वती आधारभूत विद्यालय का गरिब तथा जेहेन्दार ३० जना विद्यार्थीहरूलाई विद्यालय ब्याग वितरण गरेको हो।
कार्यक्रम विद्यालय परिसरमै आयोजना गरिएको थियो। सहयोग सामग्री विद्यालयका प्रधानाध्यापक पदमराज जोशीलाई हस्तान्तरण गरिएको थियो। उक्त अवसरमा स्थानीय जनप्रतिनिधिहरू, वडाध्यक्ष तथा वडा सदस्यहरू, साथै कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख गणेश बहादुर साउद, धनगढी शाखाका शाखा प्रबन्धक केशव प्रसाद उपाध्याय लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसैगरी कार्यक्रममा एजेन्सी मेनेजरहरू लिलाधर भट्ट, मेनुका मल्ल, दिव्यश्वरी चन्द, शान्ति मल्लसहित बिमा कर्मचारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो। उपस्थित अतिथिहरूले यस्ता सामाजिक कार्यले विद्यार्थीहरूलाई अध्ययनमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए।
कम्पनीले आफ्नो वार्षिकोत्सवलाई केवल औपचारिकतामा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्दै समुदायमा सकारात्मक प्रभाव पार्ने प्रयास गरेको जनाएको छ। विशेष गरी आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै गरिएको यस सहयोगले उनीहरूको शैक्षिक यात्रामा टेवा पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको अन्त्यमा विद्यालय प्रशासनले कम्पनीप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता सहयोगात्मक कार्यक्रम निरन्तर सञ्चालन गरिने अपेक्षा राखेको छ।


