धनगढी — धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्थाले कैलालीको सुखडस्थित आफ्नो शाखाको नवनिर्मित भवन उद्घाटन गरेको छ। सहकारीका सञ्चालक समिति अध्यक्ष देवबहादुर बमले एक कार्यक्रमका बीच भवनको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बमले करिब ९५ लाख रुपैयाँको लागतमा तीन तले भवन निर्माण सम्पन्न गरिएको जानकारी दिए। उनले संस्थाले धनगढीस्थित मुख्य कार्यालयसँगै अत्तरिया, टिकापुर, बाँसगढी र सुख्खडमा आफ्नै भवन निर्माण गरेर संस्थागत सुदृढीकरणतर्फ महत्वपूर्ण कदम चालेको बताए। यस उपलब्धिमा विगतदेखि वर्तमानसम्मका सम्पूर्ण सञ्चालक समिति तथा सदस्यहरूको योगदान रहेको उल्लेख गर्दै उनले सबैप्रति कृतज्ञता व्यक्त गरे।
अध्यक्ष बमका अनुसार सहकारीले आर्थिक मितव्ययिता अपनाउँदै सम्पत्ति विस्तारको नीति निरन्तर अघि बढाएको छ। जोशीपुरमा जग्गा खरिद भइसकेकाले त्यहाँ पनि चाँडै नयाँ भवन निर्माण गरिने योजना रहेको उनले बताए। देशभर सहकारी क्षेत्रमा विभिन्न चुनौती देखिँदै आएको अवस्थामा नवजीवन सहकारी भने संस्थापकहरूको दूरदर्शिता र सञ्चालकहरूको इमान्दारिताका कारण स्थिर र व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको उनको भनाइ थियो। कार्यक्रममा संस्थाका महाप्रबन्धक डम्मरसिंह गुरुले सहकारीको वित्तीय अवस्थाबारे जानकारी गराएका थिए। उनका अनुसार २०८२ फागुन मसान्तसम्म सहकारीको शेयर पुँजी ३४ करोड २९ हजार २ सय पुगेको छ भने सेयर सदस्य संख्या ३९ हजार ८ सय ९६ पुगेको छ। जगेडा कोषमा ५९ करोड ५४ लाख २९ हजार ७ सय ३ रुपैयाँ ३४ पैसा संकलन भएको छ।
त्यस्तै, कुल बचत रकम ५ अर्ब ४५ करोड १८ लाख ९६ हजार ४ सय ६९ रुपैयाँ ८३ पैसा पुगेको छ भने नगद मौज्दात १ अर्ब ९३ करोड ७८ लाख ८२ हजार ४ सय ५८ रुपैयाँ ३२ पैसा रहेको उनले बताए। संस्थाको स्थिर सम्पत्ति २० करोड २७ लाख ७९ हजार ४ सय ९० रुपैयाँ ७ पैसा पुगेको छ। साथै, सहकारीमा कर्मचारी संख्या पनि ११७ जनाबाट बढेर १२१ पुगेको जानकारी दिइयो।
कार्यक्रममा घोडाघोडी नगरपालिकाका प्रवक्ता घनश्याम ओझा, सहकारीका सल्लाहकारहरू, वर्तमान कार्यसमिति तथा सेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले नवजीवन सहकारीले प्रत्येक वर्ष उल्लेखनीय प्रगति गर्दै आएको उल्लेख गर्दै संस्थाको पारदर्शिता, दिगोपन र सदस्यमुखी सेवाको प्रशंसा गरेका थिए। सुख्खडमा नयाँ भवन सञ्चालनमा आएसँगै स्थानीय स्तरमा सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास गरिएको छ। साथै, यसले सहकारीको पहुँच विस्तार गर्नुका साथै आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।


