धनगढी । गौरीबहादुर कार्की नेतृत्वको आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । सञ्चारमाध्यममा सार्वजनिक जाँचबुझ आयोगको प्रतिवेदनमा राजनीतिक र उच्च नेतृत्वलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरिएको छ । यस्तै आयोगले अन्य अधिकारीलाई पनि विभिन्न अभियोगमा कारबाही गर्न सिफारिस गरेको छ ।
आयोगले नेपाल प्रहरीका डीआईजी ओमबहादुर रानालाई पनि कारबाही सिफारिस गरेको छ । जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यबाहक प्रमुख रहेका राना अहिले सुदूरपश्चिम प्रहरी प्रमुख छन् ।
उनलाई कर्तव्य पालनामा चुकेका कारण प्रहरी ऐन २०१२ को दफा ९ को उपदफा ९४० तथा प्रहरी नियमावली २०७१ को नियम १०९ अनुसार कारबाही गर्न नेपाल सरकार समक्ष सिफारिस गरिएको हो । उनीसंगै आयोगले काठमाडौं जिल्ला प्रहरी परिसरका तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारी (हाल डीआईजी), उपत्यका प्रहरीका तत्कालीन एसएसपी दिपशमशेर जबरा र प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेललाई पनि कारबाही सिफारिस गरेको छ ।

