धनगढी । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार बागथला धारी डोबा सडक निर्माण कार्यमा ग्याबिन तथा मेसिनरी कार्य नगरी भुक्तानी लिएको उजुरीका आधारमा गरिएको अनुसन्धानमा अनियमितता पुष्टि भएपछि मुद्दा दायर गरिएको हो । आयोगले बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सब–इन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी र भुमिराज कन्स्ट्रक्सनका प्रोपाइटर मानबहादुर बोहराविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।
अनुसन्धानका क्रममा निर्माण कार्य सम्झौताअनुसार सम्पन्न नभएको अवस्थामा पनि सम्पन्न भएको देखाएर झुट्टा बिल तयार गरी भुक्तानी लिएको पाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । नापी किताबमा ३३८ मिटर सिँचाइ क्यानल उल्लेख भए पनि फिल्डमा २४८ मिटर मात्रै निर्माण भएको तथा ह्युम पाइप कल्भर्टसहितको मेशनरी कार्य समेत नभएको खुलेको छ ।
यसरी झुट्टा प्रतिवेदन तयार गरी वास्तविकभन्दा बढी काम भएको देखाएर सरकारी रकम ८ लाख ४८ हजार ९६२ रूपैयाँ २२ पैसा बराबर बढी भुक्तानी लिएको आयोगले जनाएको छ । आयोगका अनुसार उक्त कार्यबाट सम्बन्धित व्यक्तिहरूले गैरकानूनी लाभ लिएको र गाउँपालिका तथा नेपाल सरकारलाई हानि पुर्याएको देखिएको छ ।
आयोगले पाँचै जनाविरुद्ध ८ लाख ४८ हजार ९६२ रूपैयाँ २२ पैसा बिगो मागदाबी गरेको छ ।

