धनगढी: धनगढी उपमहानगरपालिकाले सर्पका कारण फैलिएको त्रास नियन्त्रण गर्न सुरु गरेको सर्प उद्धार सेवा प्रभावकारी बन्दै गएको छ। करिब साढे दुई वर्षअघि सुरु गरिएको यो सेवामार्फत हालसम्म तीन हजार ९० वटा सर्प उद्धार गरिएको उपमहानगरले जनाएको छ। नगरबासीको घरभित्रै सर्प पस्ने घटनाहरू बढ्न थालेपछि उपमहानगरपालिकाले २०८० असार ३१ गतेदेखि औपचारिक रूपमा उद्धार अभियान सुरु गरेको थियो। त्यसयता नगर प्रहरी टोलीले निरन्तर रूपमा सर्प उद्धार गर्दै आएको छ।
उपलब्ध तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा ८३४, आर्थिक वर्ष २०८१/८२ मा एक हजार ३७९ र चालु आर्थिक वर्षको फागुनसम्म एक हजार ७७ सर्प उद्धार गरिएको छ। यसले सर्पको जोखिम कत्तिको उच्च रहेको र उद्धार सेवाको आवश्यकता कति महत्वपूर्ण छ भन्ने देखाउँछ। नगर प्रहरी टोलीले घर, गोठ, आँगनदेखि बाथरुमसम्म पसेका सर्प सुरक्षित रूपमा नियन्त्रणमा लिएर उचित प्राकृतिक वासस्थानमा छोड्ने गरेको छ। उद्धार गरिएका सर्पहरूमा कमन करेत, करेत, अजिङ्गर, कमन कोब्रा, ब्ल्याक कोब्रा, किङ कोब्रा तथा ब्यान्डेड करेतजस्ता विषालु प्रजाति समेत रहेका छन्।
सर्प घरभित्र पसेको अवस्थामा तत्काल उद्धारका लागि उपमहानगरपालिकाले ०९१–५९०६९० र टोल फ्री नम्बर १८१०५००००९० सार्वजनिक गरेको छ। यी नम्बरमा सूचना प्राप्त हुनासाथ उद्धार टोली तुरुन्तै घटनास्थल पुग्ने व्यवस्था मिलाइएको छ। यो सेवा सञ्चालनका लागि सुरुमा २५ जना नगर प्रहरीलाई सर्प उद्धारसम्बन्धी विशेष तालिम दिइएको थियो। उक्त तालिम शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले प्रदान गरेको हो। पछि प्रशिक्षित जनशक्तिले अन्य नगर प्रहरीलाई समेत तालिम दिँदै क्षमता विस्तार गरिएको छ।
सर्पको टोकाइबाट हुने जोखिम न्यूनीकरण गर्दै नागरिकको ज्यान जोगाउने उद्देश्यले सुरु गरिएको यो अभियानप्रति स्थानीयवासीले सकारात्मक प्रतिक्रिया दिएका छन्। नागरिकको सुरक्षासँगै सर्प संरक्षणमा समेत योगदान पुगेको भन्दै यो पहलको व्यापक प्रशंसा भइरहेको छ।

