धनगढी: आमनिर्वाचनमा २०४८ सालदेखि एउटै प्रतिनिधिलाई छान्दै आएको जिल्ला हो, डडेल्धुरा । २०४८ सालदेखि २०७९ सालसम्म भएका सात निर्वाचनमा डडेल्धुरामा अपराजित थिए, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा । तर, २१ फागुनको निर्वाचनमा भने उनी उम्मेदवार भएनन् । डडेल्धुराले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका डा। ताराप्रसाद जोशीलाई जिताएर पठाएको छ । प्रत्यक्षमा पराजित भएको कांग्रेसले समानुपातिकमा भने डडेल्धुरालाई सांसद दिएको छ । दलित महिला क्लस्टरबाट सांसद भएकी छिन्, कांग्रेसकी हरिनादेवी कामी ।
महिला संघ डडेल्धुराकी सदस्य रहेकी उनी परशुराम नगरपालिका– १२ की बासिन्दा हुन् । उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा भने १२ नम्बर वडामा दलित महिला सदस्यमा पराजित भएकी थिइन् । उनलाई तत्कालीन माओवादी केन्द्रकी सीताकुमारी सिजापतिले १० मतले पराजित गरेकी थिइन् । सिजापति ५३५ मत ल्याएर विजयी हुँदा कामीले भने ५२५ मत पाएकी थिइन् । वडा नम्बर १२ मा एक सदस्यबाहेक सबै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । २०७४ सालको निर्वाचनमा भने उनी वडा सदस्यमा विजयी भएर कार्यपालिका सदस्य थिइन् कामी ।
‘२०७४ सालको निर्वाचनमा वडा सदस्यमा विजयी हुँदै कार्यपालिका सदस्य बनेकी थिए, ’कामीले भनिन्, ‘सोही समयदेखि परशुराम नगरका बासिन्दाका लागि काम गर्दै आएकी छु । अब जनताका आवाज संसदमा उठाउनेछु ।’ उनले ऐन कानुन निर्माणसंगै डडेल्धुराको विकासका लागि सक्रिय भएर लाग्ने आफ्नो योजना रहेको बताइन् ।
‘अहिलेको जनमतअनुसार कांग्रेस प्रतिपक्षमा रहने निश्चित नै छ,’ उनले भनिन्, ‘प्रतिपक्षमा बसेर सरकारको राम्रा कामलाई सघाउने र गलत हुँदा खबरदारी गर्न म सक्रिय भएर लाग्नेछु । आफ्नो समुदायका मुद्दा पनि संसदमा उठाउनेछु ।’ बिहीबार निर्वाचन आयोगबाट समानुपातिक सांसदको प्रमाणपत्र ग्रहण गरेपछि कामीले आफूले नयाँ जिम्मेवारी पाएको बताउँदै संकल्प पनि सार्वजनिक गरेकी छन् । ‘मेरो प्यारो सुदूर डडेल्धुरा र आममतदाताहरूको मायाले आज म एउटा विशेष र अत्यन्त जिम्मेवार मोडमा उभिएकी छु, उनले भनेकी छन्, ‘नेपाली कांग्रेसको तर्फबाट संघीय संसदको सदस्यमा चयन भएको यस ऐतिहासिक क्षणमा कृतज्ञता र कर्तव्यबोधको गहिरो संगम महसुस भइरहेको छ । ३७ वर्षको उमेरमा पार्टीले मप्रति देखाएको विश्वासलाई मैले केवल एउटा पदको रूपमा मात्र नभई देश र जनताको सेवाका लागि सुम्पिएको एक महत्त्वपूर्ण जिम्मेवारीका रूपमा ग्रहण गरेकी छु । म सधैँ देश र जनताको पक्षमा उभिनेछु ।’

