धनगढी । कैलालीको खक्रौलामा सशस्त्र प्रहरीको बीओपीभित्र प्रवेश गरेर सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलमाथि आक्रमण गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । डीएसपी पौडेलले दिएको जाहेरीका आधारमा टीकापुर नगरपालिका–९ का ४० वर्षीय रामबहादुर साउदलाई पक्राउ गरिएको हो । कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले इलाका प्रहरी कार्यालय टीकापुरले उनलाई पक्राउ गरेको जानकारी दिए । तिमिल्सिनाका अनुसार सशस्त्र प्रहरीका डीएसपी पौडेलले दिएको आपराधिक उपद्रव मुद्दामा साउदलाई पक्राउ गरिएको हो ।
साउदसँगै अन्य पाँच जनाको नाममा समेत जाहेरी दिइएको छ । बीओपीभित्र प्रवेश गरेर सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा टीकापुरकै नयन साउद, सर्पराज साउद, सुरेश खड्का, रमेश खड्का र भारतको लखिमपुर खिरी बस्ने रशिद आलिखानविरुद्ध समेत जाहेरी दिइएको छ । फरार रहेका उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

