धनगढी: सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन बोलाउन सरकारलाई पाँच दिने अल्टिमेटम दिइएको छ । प्रमुख प्रतिपक्षी नेपाली कम्प्युनिस्ट पार्टी सुदूरपश्चिम संसदीय दलले पाँच दिनभित्रै अधिवेशन बोलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो । नेकपा संसदीय दलका नेता खगराज भट्टले दलको बैठकमार्फत पाँच दिनमा प्रदेशसभा बैठक आह्वान गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको जानकारी दिए । भट्टले मुख्यमन्त्री कमलबहादुर शाहलाई नियमित अधिवेशन बोलाउन ध्यानाकर्षण गराइएको जानकारी दिए ।
‘दलको निर्णयअनुसार मुख्यमन्त्रीलाई आज भेटेर ध्यानाकर्षणपत्र दिने कार्यक्रम थियो,’ नेता भट्टले भने, ‘तर, मुख्यमन्त्री शाह आज बाहिर जानुभएको हुँदा फोनबाटै मौखिक रूपमा ध्यानाकर्षण गराएका छौँ । भोलि उहाँकै हातमा ध्यानाकर्षणपत्र बुझाउँछौँ ।’ भट्टले मुख्यमन्त्री शाहमाथि नै भ्रष्टाचार आरोप लागेको बताउँदै जनताका आवाज उठाउने सदन नै नचल्दा समस्या भएको बताए ।
बजेट अधिवेशन बोलाउने बेला भइसक्दासमेत सुदूरपश्चिम प्रदेश सरकारले यस वर्षको हिउँदे अधिवेशन बोलाएको छैन । गत जेठमा सुरु भएको बजेट अधिवेशन २५ माघमा अन्त्य गरिएको थियो । प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गरी प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ ।

