धनगढी — परियोजना व्यवस्थापन तथा वित्तीय जिम्मेवारी सम्बन्धी तीन दिने कर्मचारी प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु भएको छ। राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपाल को आयोजना, धनगढी उपमहानगरपालिका को समन्वय तथा अपांगता अधिकार कोष को सहकार्यमा उक्त प्रशिक्षण सञ्चालनमा आएको हो।
कार्यक्रमको उद्घाटन भरत श्रेष्ठ ले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै उनले अटिजम भएका बालबालिकाको स्याहार–सम्भार निकै जटिल र संवेदनशील कार्य भएको उल्लेख गरे। यस्तो चुनौतीपूर्ण क्षेत्रमा अभिभावकको भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपाल प्रति उनले धन्यवाद व्यक्त गरे। साथै, यस किसिमका प्रशिक्षणले परियोजना सञ्चालनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
प्रशिक्षणमा परियोजना व्यवस्थापन, वित्तीय पारदर्शिता, उत्तरदायित्व तथा प्रभावकारी कार्यान्वयनका विविध पक्षहरू समेटिने जनाइएको छ। विषय विज्ञ यज्ञ बिक्रम शाही ले प्रशिक्षण प्रदान गर्नेछन्। संस्थाका अध्यक्ष रमेश बस्नेत का अनुसार कर्मचारीहरूमा विषयगत ज्ञान तथा सीपको अभाव हुँदा परियोजना सञ्चालनमा विभिन्न समस्या आउने गरेका कारण यस्तो तालिमको आयोजना गरिएको हो। उनले यस प्रशिक्षणले सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै संस्थागत क्षमता अभिवृद्धिमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा विभिन्न संघ–संस्थामा आवद्ध कर्मचारीहरूको सहभागिता रहेको छ। तीन दिनसम्म सञ्चालन हुने उक्त प्रशिक्षणले सहभागीहरूको क्षमता विकास गर्दै आगामी दिनमा परियोजनाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

