धनगढी — कैलाली जिल्लामा एक महिनाको अवधिमा लागूऔषध नियन्त्रणमा प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको फागुन महिनाको विवरण अनुसार लागूऔषधसम्बन्धी मुद्दामा ५० जनालाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा ४८ पुरुष र २ महिला रहेका छन्। ३३ वटा लागूऔषध मुद्दामा संलग्न उनीहरूको साथबाट १२ ग्राम ८५० मिलिग्राम गाँजा, २ केजी ६० ग्राम चरेस तथा ६३ ग्राम ६ सय मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ।
यसैगरी, सोही अवधिमा प्रहरीले ७४७ लिटर मदिरा र ३६० लिटर कच्चा पदार्थ समेत नियन्त्रणमा लिएको जनाएको छ। फागुन महिनामा जिल्लाभर कुल १४७ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्, जसमा ३५ वटा जघन्य तथा गम्भीर प्रकृतिका रहेका छन्। फरार रहेका १५ जना प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गर्न सफल भएको छ।
घरेलु हिंसाका ३४ उजुरीमध्ये २९ वटा मिलापत्रमार्फत समाधान गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, हराएका ५० महिला तथा बालबालिकामध्ये ४३ जनालाई फेला पारिएको छ भने १८१ वटा ठाडो उजुरी सबै फर्छ्यौट गरिएको छ। यता, फागुन महिनामा २४ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ। जसमा ८ पुरुष, ९ महिला र ७ बालिका रहेका छन्।
सडक दुर्घटनाको अवस्था पनि चिन्ताजनक देखिएको छ। एक महिनामा ५५ वटा सवारी दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ। ट्राफिक कारबाहीतर्फ १,१४६ सवारी साधनलाई कारबाही गर्दै १० लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ। यसका साथै, ६३ लाख ९६ हजार १५ रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ भने यस सम्बन्धमा ४ जनालाई पक्राउ गरिएको छ।
प्रहरीले सो अवधिमा ११४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै समुदायमा अपराध न्यूनीकरणका लागि पहल जारी राखेको जनाएको छ।

