काठमाडौं । नेपाली समाजमा महिलाको भूमिका विस्तार हुँदै गएको छ। सुरक्षा निकायजस्तो चुनौतीपूर्ण क्षेत्रमा पनि महिलाको सहभागिता बढ्दै गएको छ। ।नेपाल प्रहरीमा हाल करिब ९ हजार ८३७ महिला प्रहरी कार्यरत छन्। उनीहरूमध्ये एक हुन् प्रहरी निरीक्षक भगवती तिमिल्सिना। कैलालीको लम्कीचुहा नगरपालिकामा सामान्य किसान परिवारमा जन्मिएकी तिमिल्सिनाको बाल्यकाल सामान्य र सङ्घर्षपूर्ण थियो। उनले सरस्वती माध्यमिक विद्यालयबाट २०६४ सालमा एसएलसी उत्तीर्ण गरिन्। त्यसपछि धनगढीको विद्या निकेतनमा विज्ञान विषय लिएर कक्षा ११ र १२ अध्ययन गरिन्।
बाल्यकालदेखि नै उनको सपना डाक्टर बन्ने थियो। प्लस–टूपछि एमबीबीएसको तयारी गर्न उनी २०६७ सालमा काठमाडौं आइन्। तर मेडिकलमा नाम निकाल्न नसकेपछि उनले बीएससी अध्ययन सुरु गरिन्। डाक्टर बन्ने सपना पूरा नभए पनि देशको सेवा गर्ने लक्ष्य भने त्यागिनन्। प्रहरी सेवातर्फ लाग्ने प्रेरणा उनलाई विद्यालयकी सिनियर शैलेश्वरी बोहोराबाट मिलेको थियो। बोहोराको उदाहरणले प्रेरित भएर उनले पनि प्रहरी सेवा रोजिन्।
नगर प्रहरी कार्यालय भृकुटीमण्डपको अपरेसन युनिटमा उनी लामो समय एक मात्र महिला सिनियर अफिसरका रूपमा कार्यरत रहिन्। हाल उनी उपत्यका प्रहरी शिक्षालयमा कार्यरत छिन्। आन्दोलन वा विशेष परिस्थितिमा उनी अग्रपंक्तिमा खटिने गर्छिन्। तिमिल्सिनाका अनुसार अझै पनि समाजमा महिला नेतृत्वप्रति पूर्ण विश्वास बस्न सकेको छैन। कतिपय अवस्थामा महिला अधिकृतभन्दा पुरुष प्रहरीलाई प्राथमिकता दिने प्रवृत्ति देखिन्छ।
मेलम्ची इलाका प्रहरी कार्यालयमा प्रमुख हुँदा उनले यस्तो अनुभवसमेत भोगिन्। एक व्यक्तिले फोन गरेर “इन्स्पेक्टर साब हुनुहुन्छरु” भन्दै सोधे। आफू नै इन्स्पेक्टर भएको बताउँदा पनि उनले विश्वास गरेनन्। पछि “महिला भएपछि इन्स्पेक्टर हुन सकिँदैन ररु” भनेपछि मात्र ती व्यक्तिले क्षमा मागेका थिए। तिमिल्सिनाका अनुसार महिला प्रहरीलाई तालिमसँगै काम गर्ने अवसर पनि दिनुपर्छ। समान अवसर र विश्वास दिइए महिलाले पनि सबै प्रकारका जिम्मेवारी सफलतापूर्वक सम्हाल्न सक्ने उनी बताउँछिन्।
साहस, अनुशासन र कर्तव्यनिष्ठासहित काम गर्दै आएकी इन्स्पेक्टर तिमिल्सिना महिला सशक्तीकरणको उदाहरण बनेकी छन्।
बैंकिङ समाचारबाट

