धनगढी: नेपाली काँग्रेसले बझाङका नेता रामबहादुर महरलाई पार्टीबाट निष्कासन गरेको छ। पूर्व किसान संघका जिल्ला अध्यक्षसमेत रहेका महरले पार्टीका उम्मेदवार प्रकाश रसाइली ‘स्नेही’ विरुद्ध गतिविधि गरेको पुष्टि भएपछि कारबाहीस्वरूप उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालिएको हो। उनी नेकपा एमालेबाट हालै निर्वाचन माननीय ऐनबहादुर महरका पिता हुन्।
जिल्ला कार्यसमितिका अनुसार ‘नेपाली काँग्रेसको विधान २०१७ (संशोधनसहित)’ को परिच्छेद ९ को दफा ४ (ख) बमोजिम उक्त कारबाही गरिएको हो। यसैबीच, काँग्रेसले जिल्ला कमिटी सदस्य अक्कल कुँवर, भक्तबहादुर सिंह, बित्थडचिर गाउँपालिकाका अध्यक्ष अम्मर महर तथा तरुण दलका सदस्य रविकुमार सिंहसँग स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको जनाएको छ।
समितिका संयोजक चर्कबहादुर रोकायाले उनीहरूबाट चित्तबुझ्दो जवाफ नआएमा पार्टीको विधानअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्। उनले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै स्पष्टीकरण मागिएको र सन्तोषजनक जवाफ नआए कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी गराएका छन्।

