धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ५१.३७ प्रतिशत मतदान भएको छ। प्रदेशभर कुल ८ लाख ८१ हजार ९ सय ५३ मत खसेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्राप्त विवरण अनुसार मतदान गर्नेमा ४ लाख ८३ हजार १ सय ८३ महिला, ३ लाख ९८ हजार ७ सय ६३ पुरुष तथा अन्य ७ जना रहेका छन्। प्रदेशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको सुरक्षा निकायले जनाएको छ।
जिल्लागत विवरण अनुसार सबैभन्दा बढी मत कैलालीमा खसेको छ। कैलालीमा ३ लाख ५ हजार १ सय २२ मत खसेका छन् भने कञ्चनपुरमा १ लाख ८५ हजार ३ सय ६५ मत खसेको छ। त्यस्तै डोटीमा ५२ हजार ४ सय ८५, अछाममा ६४ हजार ७ सय ८०, बाजुरामा ४६ हजार २ सय ३२, डडेलधुरामा ४५ हजार ९ सय ९, बझाङमा ५८ हजार ९ सय ५४, बैतडीमा ७३ हजार १ सय ४८ तथा दार्चुलामा ४९ हजार ९ सय ६८ मत खसेको छ।
सुदूरपश्चिम प्रदेशमा कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका थिए। मतदान सम्पन्न भएसँगै विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम सुरु गरिएको छ। मुख्य निर्वाचन अधिकृतका कार्यालय तथा सम्बन्धित निर्वाचन कार्यालयमा मतपेटिका पुर्याउने क्रम जारी रहेको छ। सुरक्षा व्यवस्था कडा पार्दै मतपेटिका संकलन भइरहेको प्रशासनले जनाएको छ।
सम्भव भएका स्थानमा आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ भने दुर्गम क्षेत्रबाट मतपेटिका आइपुगेपछि अन्य स्थानमा पनि मतगणना सुरु गरिने निर्वाचन अधिकारीहरूले बताएका छन्।

