धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मङ्गलबार साँझ दुई समूहबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ। मादक पदार्थ सेवन गरेका युवाहरूको समूहबीच सामान्य विवाद चर्किँदै गएपछि झडपको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।
झडपका क्रममा केही व्यक्ति घाइते भएका छन् भने घटनामा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिना का अनुसार झडपको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो। झडप नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवाई फायरसमेत गरेको जनाएको छ।
झडपका क्रममा जिल्ला प्रहरी कार्यालयको एक सवारीसाधनमा तोडफोड भएको छ। साथै प्रहरी सहायक निरीक्षक डबल साउद र एक आक्रमणकारी घाइते भएका छन्। घाइते दुवै जनाको माया मेट्रो अस्पताल मा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिमाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको जनाएको छ। घटनापछि उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने थप अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मी परिचालनलाई निरन्तरता दिइएको छ।

