धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार डम्बर बहादुर रावल प्रतिस्पर्धाबाट पछि हटेका छन् । प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रावलले उम्मेदवारी निष्क्रिय पार्दै एमाले उम्मेदवार सुर्यबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेका छन् ।
दुई दलबीचको सहमतिअनुसार प्रत्यक्षतर्फ प्रलोपा एमालेका उम्मेदवार थापालाई समर्थन गर्ने र समानुपातिकतर्फ भने दुवै दलले आ–आफ्नो चुनाव चिन्हमा मत माग्नेछन् । सहमति कार्यक्रममा प्रलोपा केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य भगत बडूवालले पार्टी नेता कार्यकर्ताको भावनाअनुसार निर्णय गरिएको बताए। “देश गम्भीर मोडमा छ। विभिन्न शक्तिहरू सक्रिय भइरहेका बेला संविधान र राष्ट्रिय अस्मिताको रक्षा गर्नुपर्ने आवश्यकता महसुस गर्दै हामी यो निर्णयमा पुगेका हौँ।” बडूवालले भने ।
त्यस्तै, एमाले केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज लीला भण्डारीले आजको सहमतिले कैलाली–२ मा एमालेको जित सुनिश्चित भएको दाबी गरेकी छन् । “देश र संविधान जोगाउन आजको घोषणा महत्वपूर्ण छ। यसले यहाँ एमालेको जितलाई अझ बलियो बनाएको छ,” उनले भनिन्। उनले समान विचार भएका शक्तिहरूलाई पनि हातेमालो गर्न आह्वान गरिन्।
प्रलोपा उम्मेदवारको समर्थनपछि सूर्य बहादुर थापाले आफ्नो जित थप सुनिश्चित भएको प्रतिक्रिया दिएका छन्। “देश जोगाउने जिम्मेवारी हामी सबैको काँधमा छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेताहरूले त्यसलाई आत्मसात् गर्दै समर्थन गर्नुभएको छ,” उनले भने, “निर्वाचित भएपछि क्षेत्र र देशका लागि नवीन र प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।” थापाले विकास र समृद्धिका लागि विभाजनभन्दा एकता आवश्यक रहेको उल्लेख गर्दै सबै पक्षलाई सहकार्यका लागि आह्वान गरेका छन् ।


