कञ्चनपुर । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको कुतियाकवर सुरक्षित बनेको छ । वर्षौंदेखि बाढीको समस्या झेल्दै आएको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरस्थित जोगबुढा नदीमा ८०० मिटर लामो तटबन्ध निर्मण भएपछि बस्तीमा बाढीको त्रास हटेको छ ।
पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर हरेक वर्ष जोगबुढा नदी र महाकाली नदीको बाढीबाट प्रभावित हुँदै आएको थियो । वर्षायाममा डुबानबाट विस्थापित हुने यहाँका स्थानीयले जोगबुढा नदीमा तटबन्ध निर्माणपछि सुरक्षित महसुस गरेका छन । गत आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माण गरेपछि बस्ती सुरक्षित बनेको यहाँका स्थानीय बताउँछन् । यहाँका स्थानीय खडक बुढाले यहाँ तटबन्ध निर्माणपछि बस्ती नै सुरक्षित बनेको बताए। “विगतमा नदीको कटानले यहाँको बिघौँ जग्गा महाकाली नदीमा समाहित भइसकेको छ”, बुढाले भने, “वर्षायाममा बाढीको डरले यहाँबाट दोधारा बसाइसथ्र्यौं अब तटबन्ध बनेपछि हामीलाई ठूलो राहत भएको छ ।”
उनले यस पटक नदीमा तटबन्ध बनेपछि वर्षौंदेखि झेल्दै आएको बाढीको पीडाबाट मुक्ति पाइने बताए । “महाकाली नदीमा करिब ४०० मिटर तटबन्ध बन्न बाँकी छ”, उनले भने, “उक्त स्थानमा पनि तटबन्ध बने यहाँको डुबान र कटानको समस्याबाट मुक्ति पाइन्छ ।” दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि कुतियाकवर बस्ती सुरक्षित बनेको जानकारी दिए । “तटबन्ध निर्माणले बस्ती सुरक्षित भएको छ,यहाँका स्थानीयलाई बाढी र डुवानको त्रास हटेको छ ।” वडा अध्यक्ष सिंहले भने, “जोगबुढामा अन्य स्थानमा पनि तटबन्ध निर्माण हुँदैछ यसले यहाँको बाढीको समस्या हट्नेछ ।” उनका अनुसार विगतमा यो बस्ती बाढीबाट सबैभन्दा बढी प्रभावित हुँदै आएको थियो । उक्त बस्तीमा नेपाली सेनाले पनि सेफ हाउस निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । विसं २०२२ सालदेखि बसोबास रहेको यो बस्तीमा डेढ सय परिवारको बसोबार रहेको थियो । महाकाली र जोगबुढा नदी बस्ती पस्न थालेपछि यहाँबाट १०० घरपरिवार विस्थापित भएका छन् । तटबन्ध निर्माणपछि पलायन रोकिए अपेक्षा स्थानीयको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले कुतियाकवरस्थित जोगबुढा नदीमा तटबन्ध निर्माणका लागि गत चैत २५ मा रु पाँच करोड १६ लाख ६७ हजारमा शङ्कर कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ८१६ मिटर लामो तटबन्ध २०८२ चैत २५ भित्र सम्पन्न गरिसक्नुपर्ने थियो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना महेन्द्रनगरका प्रमुख रञ्जनराज भट्टराईले उक्त स्थानमा तटबन्ध निर्माणपछि बस्ती सुरक्षित बनेको जानकारी दिए । उनले आयोजना कार्यालयबाट कञ्चनपुरमा महाकाली नदी, जोगबुढा, दोदा नदी र कैलालीको मोहना कुटिया लगायत विभिन्न नदी नियन्त्रणका काम भइरहेको बताए । “गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको योजनाहरुको काम अन्तिम चरणमा छ”, उनले भने, “यहाँका स्थानीयबाट नदी नियन्त्रणको माग धेरै आउँछ आयोजनासँग बजेट अभाव छ ।” गत आवमा स्रोत सहमति लिएर ठेक्का सम्झौता भएका काम सम्पन्न गर्न करिब रु १० करोड बजेट अपुग देखिएको छ । उक्त बजेट थपका लागि आयोजना कार्यालयले प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।
दोधारा चाँदनी सुक्खा बन्दरगाहस्थल महाकाली नदी छेउ छ लेनको पक्की सडक निर्माण भएको छ । महाकाली नदीमा बनेका तटबन्ध कमजोर भएकाले मर्मतसम्भार गर्नुपर्ने भए पनि आयोजनासँग बजेट अभाव हुँदा मर्मत हुन सकेको छैन ।


