धनगढी: प्रतिनिधिसभाको चुनाव आउन ८ दिन मात्रै बाँकी छ । राजनीतिक दल तथा उम्मेदवारहरू मतदाता रिझाउने अन्तिम प्रयास गरिरहेका छन् । चुनावको मुखमा आन्तरिक विवादमा फसेको नेपाली कांग्रेसका उम्मेदवारहरू पनि मत माग्न व्यस्त छन् । विशेष महाधिवेशनको किचलोले विवाद चर्केका बेला भइरहेको निर्वाचनमार्फत कांग्रेसले कस्तो नतिजा प्राप्त गर्ला भन्नेमा सर्वाधिक चासो छ ।
अपदस्थ सभापति शेरबहादुर देउवाको भूमिका के रहला भन्नेमा पनि चासो बढेको छ । देउवा अहिले चुपचाप बसेका छन् । मतदानको दिनसम्म पुग्दा उनले केही सन्देश दिने अनुमान गरिएको छ । तर देउवानिकटहरू भने यो चुनावमा उनी मौन नै रहने बताइरहेका छन् । २०७९ को चुनावमा कैलाली ४ बाट विजयी नेता तथा सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर आफूले चुनाव नलडे पनि पार्टीको टिकटमा उम्मेदवार बनेकाहरूलाई जिताउन लागिरहेको बताउँछन् ।
त्यस्तै, कञ्चनपुर ३ बाट २०७९ को चुनाव जितेका रमेश लेखक आफूले टिकट नपाए पनि पार्टीका उम्मेदवार जिताउन लागेका छन् । ‘उहाँ आफ्नो क्षेत्रमा सक्रिय भएर लाग्नुभएको छ । पार्टीले सभा नगरे पनि केही ठाउँमा घरदैलोमा सहभागी हुनुभएको छ,’ लेखकका सहयोगी जनक भट्टले भने, ‘फिल्डमा धेरै नदेखिनु भए पनि नेता कार्यकर्ता भेटेर माहौल बनाइरहनुभएको छ ।’
कांग्रेसको वर्तमान नेतृत्वले भने पार्टीभित्र टिकट पाउने नपाउने भन्दा पनि एक भएको सन्देशको साथ कांग्रेस चुनावमा गएको बताउँछ । ‘टिकट वितरणकै क्रममा सबैसँग राय लिएर वितरण गरिएको हो । एक मत एक मन भएर पार्टी एक छ भन्ने सन्देश दिएर जनतामाझ सबै नेता जानुभएको छ,’ कांग्रेस उपसभापति पुष्पा भुसालले भनिन्, ‘निवर्तमान सभापतिको पनि पूर्ण साथ छ । उहाँको योगदानलाई अवमूल्यन गरेका छैनौँ ।’


