धनगढी: २१ फागुनको निर्वाचन आउन अब आठ दिनको समय मात्रै बाँकी छ । निर्वाचन कार्यालयहरू चुनावको अन्तिम तयारीमा जुटेका छन् भने दल र उम्मेदवारहरू आफ्नो पक्षमा मतदानका लागि दौडधुपमा छन् । मतदानको दिन नजिकिँदै गर्दा सुदूरपश्चिममा रहेका १६ निर्वाचन क्षेत्रबारे पनि अनुमान लगाउने क्रम बढ्दो छ । दलहरूले आफ्नो आन्तरिक विश्लेषण गरेका छन् त आम नागरिकमा पनि कुन क्षेत्रमा कसको जित होला भन्ने चासो देखिन्छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रदेशमा सबैभन्दा ठूलो दल थियो, नेपाली कांग्रेस । उसले सुदूरपश्चिमका १६ मध्ये नौ सिटमा उम्मेदवार उठाएको थियो । माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेर चुनाव लडेको कांग्रेसले लडेका नौमध्ये आठ सिटमा जित निकाल्न सफल भयो । कांग्रेस उम्मेदवार कैलाली– ४ र ५, कञ्चनपुर– २ र ३, अछाम– २, डडेल्धुरा, दार्चुला र बाजुरामा जित निकाल्न सफल भएका थिए । सुदूरपश्चिममा कांग्रेसबाट उम्मेदवार बनेर पराजित भएका एक मात्र उम्मेदवार थिए, रामजनम चौधरी । उनी कैलाली– १ मा उम्मेदवार थिए । चौधरीलाई तत्कालीन नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ चौधरीले पराजित गरेकी थिइन् ।
अहिले कांग्रेससँग २१ फागुनको निर्वाचनका लागि १६ वटै क्षेत्रमा उम्मेदवार छन् । आसन्न निर्वाचनमा प्रदेशमा सिट थपिने कांग्रेसको आन्तरिक विश्लेषण छ । यसपटक सबै क्षेत्रमा उम्मेदवार भएका कारण सिट थप हुने दाबी कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका एक नेताले गरे । ‘हामी कम्तीमा पनि १० सिट जित्छौँ,’ उनले भने । ती नेताका अनुसार कैलाली १, ४ र ५, कञ्चनपुर २ र ३, अछाम– १, डडेल्धुरा, बाजुरा, डोटी र बैतडीमा कांग्रेस उम्मेदवारको जित सुनिश्चित छ । कैलाली– १ मा जनकराज चौधरी, ४ मा गोरखबहादुर बिष्ट, ५ मा नरनारायण शाह, कञ्चनपुर २ मा एनपी साउद, ३ मा हरिप्रसाद बोहरा, अछाम– १ मा भरतकुमार स्वाँर, बाजुरामा जनकराज गिरी, डोटीमा भरतबहादुर खड्का र बैतडीमा चतुरबहादुर चन्द कांग्रेसका उम्मेदवार छन् ।
यस्तै, कैलाली २ र ३, कञ्चनपुर– १, अछाम– २ तथा बझाङमा पनि चुनावी माहौल राम्रो रहेको कांग्रेसको आन्तरिक विश्लेषण छ । ‘पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा कांग्रेसको पोजिसन बिग्रेला भन्ने थियो,’ कांग्रेस सुदूरपश्चिमका एक नेताले भने, ‘तर, भेट्न गएका नेतालाई देउवाले कांग्रेसका उम्मेदवारलाई जिताउन निर्देशन दिइराख्नु भएको छ । यसले सुदूरपश्चिममा कांग्रेस एक भएको छ ।’ २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा अघिल्लो निर्वाचनको हैसियत गुमाएको थियो । २०७४ सालको निर्वाचनमा एमालेले मात्रै ११ सिट जितेको थियो । तर, २०७९ सालको निर्वाचनमा १६ वटै क्षेत्रमा उम्मेदवार हुँदा पनि दुई सिटमा मात्रै जित निकाल्न सकेको थियो, एमालेले । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा तारा लामा तामाङ र बैतडीमा दामोदर भण्डारी विजयी भएका थिए ।
समानुपातिकमा भने एमाले प्रदेशमा पहिलो दल बनेको थियो । जसले एमालेको लोकप्रियता कायम रहेको देखायो । आसन्न निर्वाचनमा एमालेले प्रदेशमा १२ सिट जित्ने उपमहासचिव लेखराज भट्टको दाबी छ । तर, एमालेको आन्तरिक विश्लेषणमा सात सिट सुरक्षितमा राखिएको छ । कैलाली– २ र ४, कञ्चनपुर ३, अछाम– २, बैतडी, दार्चुला र बझाङमा चुनाव जित्ने एमालेको आन्तरिक विश्लेषण छ । कैलाली– २ मा सूर्यबहादुर थापा, ४ मा एमाले उपमहासचिव लेखराज भट्ट, कञ्चनपुर– ३ मा दीपकप्रकाश भट्ट, बैतडीमा दामोदर भण्डारी, दार्चुलामा गणेशसिंह ठगुन्ना र बझाङमा ऐन महर एमाले उम्मेदवार छन् । कैलाली ५, कञ्चनपुर– १ र बाजुरामा पनि माहौल राम्रो भएको एमालेको दाबी छ । डडेल्धुराबाहेक अन्य क्षेत्रमा पनि एमाले उम्मेदवार मुख्य प्रतिस्पर्धामा रहेको दाबी गरिएको छ ।
२०७४ सालदेखि २०७९ सालसम्म सुदूरपश्चिम प्रदेशमा सरकार थियो, तत्कालीन माओवादी केन्द्रको । अन्य प्रदेशमा बेलाबेला मुख्यमन्त्री नै फेरिए पनि सुदूरपश्चिममा भने पाँच वर्ष नै मुख्यमन्त्री चलाएका थिए, माओवादी केन्द्रका त्रिलोचन भट्टले । तर, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने माओवादी केन्द्र सुदूरपश्चिममा निल भयो । नेकपामा सम्मीलित एकीकृत समाजवादीले भने लडेका तीनवटै सिटमा जित निकालेको थियो । यस्तै नेकपामै मिलेको नागरिक उन्मुक्तिले सुदूरपश्चिममा तीन सिट जितेको थियो । आसन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ राम्रो प्रदर्शन गर्ने विश्लेषण नेपाली कम्युनिस्ट पार्टीको छ । सुदूरपश्चिममा १६ मध्ये १४ सिटमा आफ्ना उम्मेदवार प्रतिस्पर्धामा रहेको नेकपाका नेताहरूको भनाइ छ । पाँच सिटलाई भने उसले सुरक्षित सूचीमा राखेको छ ।
कैलालीमा तीन, कञ्चनपुरमा एक र अछामका एक क्षेत्रलाई नेकपाले जित्ने सूचीमा राखेको हो । कैलाली– १ मा रामलाल डँगौरा, ३ मा वीरमान चौधरी र ५ मा प्रेम आले, कञ्चनपुर– १ मा बिना मगर तथा अछाम– १ मा भीम रावलको जित सुनिश्चित रहेको नेकपाको आन्तरिक विश्लेषण छ । सुदूरपश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनाधार अन्य प्रदेशभन्दा कमजोर छ । गत निर्वाचनले पनि त्यही देखाएको थियो । उसले प्रदेशमा प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेको थिएन । समानुपातिक मत पनि नेपाली कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रभन्दा निकै कम पाएको थियो, रास्वपाले ।
नागरिक उन्मुक्ति पार्टी पनि लोकप्रिय मतमा रास्वपाभन्दा अगाडि थियो । आसन्न निर्वाचनमा भने रास्वपा सुदूरपश्चिममा प्रभाव बलियो बनाउन चाहन्छ । यसपटकको निर्वाचनमा प्रदेशमा कम्तीमा पनि चार सिटमा जित निकाल्ने आन्तरिक विश्लेषण रास्वपाको छ । कञ्चनपुर र कैलालीको एक–एक क्षेत्र जितिने रास्वपाको आन्तरिक आकलन छ । कञ्चनपुर– २ र कैलाली– २ मा जित हुने आकलन गरिएको हो । कञ्चनपुर– २ मा रास्वपा सभापति रवि लामिछानेका विश्वासपात्र दीपक बोहरा चुनावी मैदानमा छन् । यस्तै कैलाली– २ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहनिकट मानिने केपी खनाल उम्मेदवार छन् । दुवै क्षेत्रमा मुख्य प्रतिस्पर्धा कांग्रेससँग रहेको रास्वपाको आन्तरिक आकलन छ ।
यस्तै अछाम– २ र बैतडीलाई पनि रास्वपाले जित्ने सूचीमा राखेको छ । अछाम– २ मा बालेनका पूर्वस्वकीय भूपदेव शाह तथा बैतडीमा कांग्रेस पृष्ठभूमिका हरिमोहन भण्डारी रास्वपाबाट उम्मेदवार छन् । रास्वपाले कैलाली– ५, डडेल्धुरा र बाजुरामा पनि आफ्ना उम्मेदवार मुख्य प्रतिस्पर्धीको रूपमा रहेको जनाएको छ । कैलाली– ५ मा आनन्दबहादुर चन्द, डडेल्धुरामा डा. तारा जोशी र बाजुरामा हेमराज थापा रास्वपाबाट उम्मेदवार छन् ।


