धनगढी: सातै प्रदेशमा ठूला चुनावी सभाको तयारी गरिरहेको नेपाली कांग्रेस ले सुदूरपश्चिम प्रदेशमा भने तत्काल नगर्ने भएको छ । भोलि कर्णालीको सुर्खेत र लुम्बिनीको नेपालगन्ज मा चुनावी कार्यक्रम सम्बोधन गर्न सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका केन्द्रीय नेताहरू आउँदै छन् । उनीहरू भोलि नै सुदूरपश्चिम आउने तयारी गरिएको थियो । तर, देउवापक्ष उपस्थित नहुने सङ्केत पाएपछि अन्तिम समयमा उक्त आमसभा स्थगित गरिएको छ ।
शेरबहादुर देउवालाई पाखा लगाएर पछिल्लो समय कांग्रेसले गरिरहेको गतिविधिप्रति सुदूरपश्चिममा देउवा पक्षका नेताहरू सन्तुष्ट छैनन् । त्यसको प्रभाव कांग्रेसले भोलि गर्न खोजेको आमसभामा पनि देखिएको छ ।
‘कैलालीको अत्तरिया वा धनगढीमा कांग्रेसको आमसभा आयोजना गर्ने, उक्त कार्यक्रमको आयोजक प्रदेश समिति बन्ने तयारी गरिएको थियो तर, देउवा विनाको कार्यक्रम गर्न प्रदेशका पदाधिकारीहरू तयार नभएपछि सुदूरपश्चिमको कार्यक्रम स्थगित भएको हो,’ कांग्रेस स्रोतले भन्यो, ‘प्रदेशका पदाधिकारीहरू देउवा पनि आउन् भन्ने चाहन्थे तर, केन्द्रले त्यसको समन्वय गर्न सकेनन् । त्यसपछि कार्यक्रम हुन सकेन ।’
दुई दिन पहिले कैलाली क्षेत्र नम्बर २ का नेता–कार्यकर्तासँग कांग्रेस केन्द्रीय सदस्य हिम बहादुर रावल ले १४ गते गगन थापा आउनेबारे जानकारी गराएका थिए । उक्त कार्यक्रममा रहेका मुख्यमन्त्री कमल बहादुर शाह यस विषयमा अनविज्ञ थिए ।
उनले कांग्रेस सभापति आउने कार्यक्रममा सहभागी राम्रो हुनुपर्ने र त्यसका लागि सबैले तयारी गर्नुपर्ने बताएका थिए । ‘हिम दाइले सभापति आउने कुरा गर्दा मुख्यमन्त्रीज्यूले थाहा नभएको जस्तो हामीलाई लागिरहेको थियो,’ एक कांग्रेस नेताले भने, ‘मुख्यमन्त्रीज्यूले सभापति आउने कार्यक्रमले राम्रो सन्देश दिनुपर्छ । विवाद र विभाजन देखिए सभा हुनुहुँदैन भन्नुभएको थियो ।’
एकपक्षीय जस्तो देखिने कार्यक्रम भए आफू पनि उक्त आमसभामा उपस्थित नहुने सन्देश मुख्यमन्त्रीले दिएको सँगै रहेका ती नेताले बताए । अत्तरियामा कार्यक्रम आयोजना गर्ने भन्दै उम्मेदवारहरूसँग आर्थिक सङ्कलनको संवादसमेत भइरहेको थियो । कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार गोरखबहादुर विष्टले आफ्नो क्षेत्रमा कार्यक्रम आयोजना हुने भए २ लाख रुपैयाँ र अर्को कुनै क्षेत्रमा कार्यक्रम हुने भए १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको कांग्रेस नेताले जानकारी दिए । तर, कांग्रेस एकजुट नहुने भएपछि कार्यक्रम स्थगित भएको हो ।
केन्द्रीय नेताहरूलाई सुदूरपश्चिम प्रदेशमा ल्याउन तयारी गरिरहेका रावलले भने समय अभाव हुँदा कार्यक्रम स्थगित भएको जानकारी दिए । ‘भोलि दुई ठाउँमा कार्यक्रम सकेर यहाँ हुने कार्यक्रमको विषयमा कुरा भएको थियो तर, समय नहुने भएपछि स्थगित भएको हो,’ रावलले भने ।
केन्द्रीय समितिले प्रदेश समितिलाई उक्त कार्यक्रम आयोजना गर्न तयारी थाल्न भनेको थियो । तर, प्रदेश सभापति वीरबहादुर बलायर ले तत्काल सभा आयोजना गर्न नसकिने बताएका थिए । त्यसपछि जिल्लाले आयोजना गर्ने विषयमा पनि कुरा भएको थियो । तर, जिल्ला सभापति नारायणदत्त भट्ट ले पनि त्यसमा खासै चासो देखाएनन् । प्रदेश सभापति बलायर र जिल्ला सभापति भट्ट दुवै देउवा निकट हुन् । प्रदेश र जिल्ला सभापतिबाटै आमसभाका बारेमा सकारात्मक प्रतिक्रिया नपाएपछि कांग्रेसको चुनाव केन्द्रित आमसभा तत्काललाई टरेको हो ।
जिल्ला सभापति भट्टले भने उम्मेदवारहरूको समयका कारण सुदूरपश्चिम प्रदेशमा आयोजना हुने भनिएको कार्यक्रम नहुने भएको बताएका थिए । ‘एक–दुई उम्मेदवारलाई मात्रै ल्याएर हुँदैन । अहिले उम्मेदवारहरू आउन नसक्ने भएपछि कार्यक्रम नहुने भएको हो,’ उनले भने ।
सुदूरपश्चिम प्रदेशमा सभापतिसहितका नेताहरू ल्याएर भोलि गर्ने भनिएको कार्यक्रम स्थगित भएपछि अब अर्को कार्यक्रमको टुङ्गो लागेको छैन । देउवा पक्षका नेताहरू सुदूरपश्चिम आउँदा शेरबहादुर देउवालाई पनि देख्न चाहन्छन् भने वर्तमान केन्द्रीय समिति त्यसो गर्ने पक्षमा देखिएको छैन ।
सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्र मध्ये अधिकांशमा विशेष महाधिवेशन पक्षधरले टिकट पाएका छन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व गृहमन्त्री रमेश लेखक चुनाव लड्ने चाहना व्यक्त गर्दा गर्दै उनलाई पाखा लगाइएको थियो । कैलाली ४ मा टिकट पाएका देउवा पक्षका प्रदेश सभापति वीरबहादुर बलायरले अन्तिम समयमा टिकट फिर्ता गरेका थिए ।
अहिले देउवा र देउवा निकटकालाई टिकट नदिएपछि सुदूरपश्चिम प्रदेशमा कांग्रेस भित्र किचलो सुरु भएको छ । यस्तो अवस्थामा कांग्रेसको आमसभामा गगन/विश्व आउँदा र देउवा नआउँदा थप माहौल बिग्रने भएपछि कार्यक्रम स्थगित गरिएको कांग्रेस नेताले बताए ।
यसैबीच कांग्रेसका निवर्तमान सभापति देउवाले आफू कांग्रेसका कुनै पनि गतिविधिमा संलग्न नहुने र डडेल्धुरामा मत दिनसमेत नआउने संकेतले यहाँको मत परिणाममा पनि प्रभाव पर्ने विश्लेषण भइरहेको छ ।


