धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कैलाली जिल्ला क्षेत्र नं। ५ का उम्मेदवार प्रेमबहादुर आलेले देशबाट भ्रष्टाचार अन्त्य गर्न आफूले कुनै कसर बाँकी नराख्ने दृढ प्रतिवद्धता व्यक्त गरेका छन । आज धनगढीउपमहानगरपालिका–१६ घुरहीमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता आलेले भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गर्ने बताए ।
उनले भने , “नेपाललाई समृद्ध र सुशासनयुक्त राष्ट्र बनाउन भ्रष्टाचार अन्त्य अनिवार्य छ। म जनताको विश्वास जितेर संसद्मा पुगेपछि भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नेछु।” आलेले विगतका सरकारहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको उल्लेख गर्दै अब पारदर्शिता, जवाफदेहिता र विकासलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए । उनले युवाहरूलाई रोजगारी सिर्जना, पूर्वाधार विकास र सामाजिक न्याय स्थापना आफ्नो मुख्य एजेण्डा रहेको स्पष्ट पारे ।
नेता आलेले जनताको साथ र समर्थनले मात्रै परिवर्तन सम्भव हुने उल्लेख गर्दै आसन्न निर्वाचनमा आफ्नो पक्षमा मत दिन आग्रह गरे ।
कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले विकास निर्माण, रोजगारी र सुशासनका विषयमा आफ्ना सुझाव राखेका थिए।


