धनगढी: यही २१ फागुनमा हुने निर्वाचनका लागि त्रिनगर भन्सार नाका तीन दिन बन्द गरिने भएको छ। निर्वाचन सुरक्षालाई ध्यानमा राखेर नाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
१८ फागुनको राति १२ बजेदेखि २१ फागुनको राति १२ बजेसम्म नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। नाकामा यातायातका साधन सञ्चालन तथा आवतजावतमा रोक लगाइएको प्रशासनले जनाएको छ।
उक्त अवधिमा एम्बुलेन्स, ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युतीय सेवाजस्ता अत्यावश्यक सेवाका गाडी, कूटनीतिक नियोगका सवारीबाहेक अन्य सवारीसाधन सञ्चालनमा निषेध गरिएको सूचना अधिकारी जोशीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेरै नाका बन्द रहने जानकारी गराएको छ।
कैलालीमा आगामी निर्वाचनलाई लक्षित गरेर प्रहरीले सीमानाका तथा खुला सिमाना भएको क्षेत्रमा चेकजाँच र निगरानी बढाएको छ। यहाँ भारतसँग जोडिएको एक सय किलोमिटर खुला सिमाना रहेको छ।


