बझाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङमा २ हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै जिल्लामा २ हजार ८८३ सुरक्षाकर्मी परिचालन गरिने भएको हो । निर्वाचनलाई सुरक्षित बनाउनका लागि यस पटक २०७९को निर्वाचनभन्दा बढी कडाई गरिएको प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्र धमलाले विगतका कमजोरी नदोहोरिने गरी सुरक्षा योजना तयार गरिएको बताए । निर्वाचनका लागि कुल २ हजार ८८३ सुरक्षाकर्मी परिचालन गर्न लागिएको उनको भनाई छ ।
उनका अनुसार जिल्लामा निर्वाचनका लागि ७११ जना नेपाल प्रहरी, ४०८ जना नेपाली सेना, १८४ जना सशस्त्र प्रहरी र १ हजार ५८० जना निर्वाचन प्रहरी खटाईने छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै तयारी पूरा भएको प्रशासनले जनाएको छ । जिल्लामा कुल १ लाख २६ हजार ९ सय ३ मतदाता रहेका छन् । तीमध्ये ६२ हजार २८९ पुरुष र ६४ हजार ६१४ महिला मतदाता छन् । निर्वाचनका लागि २ अस्थायी मतदान केन्द्र, १ सय ८९ स्थायी मतदान केन्द्र र १३७ मतदान स्थल तोकिएका छन् ।
तीमध्ये ३ मतदान स्थल सामान्य, ४९ संवेदनशील र ८५ अति संवेदनशील श्रेणीमा वर्गीकृत गरिएको छ । जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गरिने भएको छ । मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार जिल्लामा ५१ प्रकारका निर्वाचन सामग्री पुगिसकेको छ । मतदाता शिक्षा, जनशक्ति व्यवस्थापनदेखि सुरक्षा रणनीतिसम्मका कार्य अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख वसन्तबहादुर धानुकले बताए । उनले निर्वाचनमा १ हजार १ सय ३४ जना कर्मचारी खटनपटन भइसकेको र उनिहरुलाई आवश्यक तालिम दिने तयारी भैरहेको बताए । फागुन ३ गतेदेखि जिल्लाका १२ वटै स्थानीय तहका ९४ वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको उनको भनाई छ ।


