धनगढी । बाजुराका नौ वटै पालिकामा सुरक्षा गस्ती खटाइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै यहाँका नौ वटै पालिकामा रहेका मतदान स्थलमा सुरक्षा गस्ती खटाइएको हो ।
जिल्लाका ७७ वटा मतदान स्थलमध्ये यहाँ ४३ वटा अतिसंवेदनशील मतदान स्थल छन् । ती स्थलको अनुगमन तथा त्यस ठाउँका नागरिकलाई सुरक्षाको प्रत्याभुतिका लागि यतिबेला यहाँका प्रत्येक स्थलमा सुरक्षा गस्ती सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेशबहादुर शाहीले निर्वाचनलाई लक्षित गरी यहाँका अतिसंवेदनशील स्थलमा इन्पेक्टरको कमान्डमा बीस, बीस जनाको टोली खटाएको छ । त्यो टोली मार्फत अहिले यहाँका अतिसंवेदनशील ठाउँमा गस्ती गरेको बताए ।
नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरीको संयुक्त टोलीले यतिबेला यहाँका प्रत्येक गाउँ बस्तीमा समेत गस्ती गर्दै आएपछि नागरिकलाई सुरक्षाको प्रत्याभुति भइरहेको सूचना अधिकारी शाहीले बताए ।
जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बाजुराका ७० वटा मतदान स्थलमध्ये ४३ अति संवेदनशील, २३ संवेदनशील र ४ मतदान स्थल सामान्य रहेको बताए ।
बाजुरामा ४५ हजार ४२८ पुरुष , ४२ हजार ४३१ महिला र अन्य दुई गरी यहाँ ८७ हजार ८६१ जना मतदाता रहेका छन् । त्यसका लागि यहाँ ७७ स्टल ११८ केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गत महतले बताए ।


