बैतडी – आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बैतडीको राजनीतिक माहोल तीव्र बन्दै गएको छ। नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री दामोदर भण्डारी आफ्नो पक्षमा जनसमर्थन विस्तार गर्न सक्रिय रूपमा जुटेका छन्। प्रारम्भिक चरणमा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिए पनि पछिल्लो घटनाक्रमले भण्डारीको पक्षमा माहोल एकतर्फी बन्दै गएको एमाले नेताहरूको दाबी छ।
पुर्चौडीमा शक्ति प्रदर्शन
माओवादीको गढका रूपमा चिनिने पुर्चौडी नगरपालिकामा आयोजित बृहत् आमसभामा उल्लेखनीय राजनीतिक फेरबदल देखिएको छ। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य दल बहादुर धामी र दिपेन्द्र कुँवर तथा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश समिति सदस्य जनक बिष्टको नेतृत्वमा दुई सयभन्दा बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई उम्मेदवार भण्डारीले औपचारिक रूपमा स्वागत गरेका थिए।
पुर्चौडीमा एकैदिन ठूलो संख्यामा नेताहरूको पार्टी प्रवेशले जिल्लाको राजनीतिक तापक्रम थप बढाएको छ। एमाले बैतडीका अनुसार यस पटक पुर्चौडीबाट सबैभन्दा बढी मत एमालेले ल्याउने दाबी गरिएको छ।
तल्लो सोराडदेखि सदरमुकामसम्म बढ्दो सक्रियता
तल्लो सोराड क्षेत्र अन्तर्गत पर्ने मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा समेत भण्डारीको पक्षमा जनसमर्थन उल्लेख्य रूपमा बढेको एमालेको भनाइ छ। त्यस्तै डिलासैनी, दोगडाकेदार र पाटन नगरपालिकाबाट पनि अत्यधिक मत आउने दाबी गरिएको छ। सिगास र सुर्नया गाउँपालिकामा समेत नेताहरूको सक्रियता बढिरहेको बताइएको छ।
निरन्तर विजयी यात्रा
भण्डारी २०७०, २०७४ र २०७९ सालका निर्वाचनमा लगातार विजयी हुँदै आएका नेता हुन्। २०७० सालमा उनले कांग्रेसका लोकराज अवस्थीलाई पराजित गरेका थिए भने २०७४ मा कांग्रेसकै नरबहादुर चन्दलाई हराएका थिए। २०७९ मा सातदलीय गठबन्धनका उम्मेदवार माओवादीका नरेन्द्र कुँवर ‘विजय सुन्दर’लाई ३३ हजारभन्दा बढी मतसहित पराजित गरेका थिए।
छोटो अवधिमा चार पटक मन्त्रीसमेत भइसकेका भण्डारीले आफ्नो राजनीतिक यात्रापछि बैतडीमा साना–ठूला विकास परियोजना अघि बढाएको एमालेको दाबी छ। यही कारण उनी मतदाताको रोजाइमा पर्दै आएको नेताको रूपमा स्थापित भएको बताइन्छ।
५ हजार मतान्तरको दाबी
एमाले बैतडीका अनुसार यस पटक भण्डारी करिब ५ हजार मतान्तरले विजयी हुने प्रक्षेपण गरिएको छ। पार्टी प्रवेश र बढ्दो जनसक्रियताले चुनावी समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने आकलन गरिएको छ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बैतडीमा दलहरूबीच प्रतिस्पर्धा थप चर्किने देखिएको छ भने पुर्चौडीको पछिल्लो राजनीतिक घटनाक्रमले चुनावी माहोललाई नयाँ मोड दिएको विश्लेषण गरिएको छ।


