धनगढी ।प्रतिनिधि सभा सदस्यका लागि कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सुर्य थापा ले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्। प्रेस चौतारी नेपाल कैलालीद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले मतदाताले पार्टीभन्दा व्यक्तिको क्षमता र भिजनलाई प्राथमिकता दिएको बताएका हुन्।
कार्यक्रममा उनले क्षेत्रको समग्र विकासका लागि पर्यटन, कृषि र रोजगारीलाई केन्द्रमा राखेर योजना अघि सारे। नेकपा एमाले का उम्मेदवार थापाले कर्णाली क्षेत्रको सम्भावनालाई उपयोग गर्न सके कैलालीलाई समृद्ध बनाउन सकिने बताए।
“अहिले पार्टीभन्दा व्यक्तिलाई मतदाताले रुचाएका छन्। म यो क्षेत्रलाई समृद्ध बनाउन सक्ने व्यक्ति हुँ, त्यसैले हाम्रो जित सुनिश्चित छ”सुर्य थापाले भने ।
थापाले कर्णाली नदी लाई यहाँको मुख्य सम्पत्ति उल्लेख गर्दै जल पर्यटन, र्याफ्टिङ तथा सुनको सम्भावनाको अध्ययनमार्फत आर्थिक गतिविधि बढाउन सकिने धारणा राखे।
साथै बर्दगोरिया धाम लगायत १० वटा पर्यटकीय क्षेत्रलाई जोड्ने योजना रहेको जानकारी दिए। जल्पादेवी क्षेत्रमा केबुलकार निर्माण गरी पर्यटन प्रवर्द्धन गरिने र त्यसबाट १,५०० युवालाई रोजगारी सिर्जना हुने उनको दाबी छ।
कृषि उत्पादनलाई बजारीकरण र प्रशोधनसँग जोड्दै पाँच वर्षभित्र पाँच हजार युवालाई रोजगारी दिने लक्ष्य रहेको उनले बताए। “युवा विदेशिनु रहर होइन, बाध्यता हो। यो बाध्यता अन्त्य गर्नुपर्छ,” उनले भने।
प्रतिनिधि सभामा विजयी भएपछि पाउने सेवा–सुविधा गरिब, जेहेन्दार तथा विपन्न वर्गका लागि प्रयोग गर्ने प्रतिबद्धता समेत थापाले व्यक्त गरे।
सम्भावना धेरै भए पनि पहिचान र कार्यान्वयनको अभाव रहेको उल्लेख गर्दै उनले विकासका लागि स्पष्ट भिजन र इच्छाशक्ति आवश्यक रहेको बताए।


