धनगढी- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार द्ववारिका न्यौपानेले आफ्नो दल कुनै पनि हिसाबले कमजोर नभएको दाबी गरेका छन्। प्रेस चौतारी नेपाल कैलालीद्वारा आयोजित “प्रेस चौतारीसँग उम्मेदवार” कार्यक्रममा सम्बोधन गर्दै न्यौपानेले राजनीतिक प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै भने, “हरेक चिज स्थायी हुँदैन। कुनै समय यहाँ एमाले कमजोर छैन। मतका हिसाबले, प्रतिस्पर्धाका हिसाबले, मान्यताका हिसाबले लगायत कुनै पनि हिसाबले हामी पछाडि छैनौं।”
कार्यक्रममा उनले आफ्नो पार्टीको संगठनात्मक अवस्था सुदृढ रहेको र जनतामाझ एमालेको स्वीकार्यता अझै बलियो रहेको जिकिर गरे। विगतका निर्वाचन परिणाम र वर्तमान जनमतको विश्लेषण गर्दै उनले क्षेत्र नम्बर १ मा एमालेले पुनः प्रभावशाली उपस्थिति देखाउने विश्वास व्यक्त गरे।
न्यौपानेले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि स्पष्ट प्राथमिकता निर्धारण गरिएको बताए। उनले विशेषगरी सौर्य ऊर्जाको सम्भावनालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे। “मेरो निर्वाचन क्षेत्रमा सौर्यको विकास गर्न सक्छौं। ऊर्जाको क्षेत्रमा अन्य केही गर्न सकिँदैन,” उनले भने। उनका अनुसार भौगोलिक अवस्था र प्राकृतिक स्रोतको उपलब्धताका आधारमा सौर्य ऊर्जा उत्पादन र विस्तार नै सबैभन्दा व्यवहारिक विकल्प हो।

उनले स्थानीय तहसँग सहकार्य गर्दै साना तथा मझौला सौर्य परियोजना अघि बढाउने योजना रहेको जानकारी दिए। यसले ग्रामीण क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउने, साना उद्योग सञ्चालनमा सहयोग पुग्ने तथा युवालाई रोजगारी सिर्जना हुने विश्वास उनले व्यक्त गरे।
न्यौपानेले एमालेले सार्वजनिक गरेको प्रतिवद्धतापत्र जनतामुखी भएको दाबी गर्दै अन्य दलहरूले समेत सोही एजेण्डा नक्कल गरेको आरोप लगाए। “हाम्रो प्रतिवद्धतापत्र हुबहु अन्य दलले ल्याए। हामीले जनताका एजेण्डा उठाएका छौं। जनताले मात्र नभई विभिन्न उम्मेदवारले पनि ती एजेण्डालाई स्वीकार गरेका छन्,” उनले भने।
उनका अनुसार कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास जस्ता विषय एमालेको प्राथमिकतामा रहेका छन्। उनले जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयलाई केन्द्रमा राखेर योजना बनाइएको बताए।
कार्यक्रममा बोल्दै न्यौपानेले समाजमा व्याप्त नकारात्मक सोच अन्त्य गर्नुपर्नेमा जोड दिए। “समाजमा भएका नकारात्मक सोच तोडी सकारात्मक ढंगले अघि बढौं,” उनले आह्वान गरे। उनका अनुसार विकास र समृद्धिका लागि राजनीतिक स्थिरता र सकारात्मक सोच अनिवार्य छ।
उनले राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ रूपमा लिनुपर्ने उल्लेख गर्दै एकअर्कालाई आरोप–प्रत्यारोपभन्दा पनि एजेण्डामा प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखे। “हामी कामका आधारमा मत मागिरहेका छौं। जनतालाई भ्रममा पार्ने काम हाम्रो होइन,” उनले भने।
किसानका समस्या समाधान आफ्नो प्रमुख एजेण्डा भएको उल्लेख गर्दै न्यौपानेले कृषिको आधुनिकीकरणमा जोड दिए। “किसानका समस्या सम्बोधन गर्न कृषि आधुनिकीकरण, भूमि समस्या समाधान र डुबानको समस्या समाधानका लागि करिडोर अवधारणा लिएका छौं,” उनले स्पष्ट पारे।
उनका अनुसार क्षेत्र नम्बर १ का धेरै किसान परम्परागत खेती प्रणालीमा निर्भर छन्। आधुनिक प्रविधि, सिँचाइ सुविधा, उन्नत बीउ र बजार पहुँच अभावका कारण किसानले उचित मूल्य पाउन नसकेको उनले बताए। यसलाई समाधान गर्न सहकारीमार्फत सामूहिक खेती, कृषि उपज संकलन केन्द्र स्थापना र प्रशोधन उद्योग सञ्चालन गरिने योजना रहेको उनले जानकारी दिए।
भूमि व्यवस्थापनका विषयमा उनले अव्यवस्थित बसोबास र लालपूर्जा समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। “भूमि समस्या समाधान बिना दिगो विकास सम्भव छैन,” उनले भने।
कैलाली क्षेत्र नम्बर १ का विभिन्न बस्ती वर्षायाममा डुबानको समस्याबाट प्रभावित हुने गरेको उल्लेख गर्दै न्यौपानेले दीर्घकालीन समाधान आवश्यक रहेको बताए। उनले नदी नियन्त्रण, तटबन्ध निर्माण तथा जल निकास व्यवस्थापनका लागि ‘करिडोर अवधारणा’ अघि सारिएको जानकारी दिए।
उनका अनुसार करिडोर अवधारणाअन्तर्गत नदी किनार क्षेत्रमा हरित पट्टी, सडक सञ्जाल र तटबन्ध निर्माण गरिनेछ, जसले बाढी नियन्त्रणसँगै आवागमन र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउनेछ।
थारू बाहुल्य क्षेत्र भएकाले थारू समुदायको पहिचान, संस्कृति र आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखिएको न्यौपानेले बताए। “थारू संग्रहालय निर्माण गर्ने, थारू संस्कृतिको जगेर्ना गर्ने, जनतालाई आयसँग जोड्ने लगायत थुप्रै पूर्वाधार विकासका काम गरिनेछ,” उनले भने।
उनका अनुसार थारू समुदायको मौलिक संस्कृति, परम्परा र इतिहासलाई संरक्षण गर्न सांस्कृतिक केन्द्र तथा संग्रहालय आवश्यक छ। यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने र स्थानीयलाई आयआर्जनको अवसर प्रदान गर्ने उनले विश्वास व्यक्त गरे।
उनले सीपमूलक तालिम, घरेलु तथा साना उद्योग प्रवर्द्धन, हस्तकला र कृषि–पर्यटन विकासमार्फत समुदायलाई आत्मनिर्भर बनाउने योजना रहेको बताए।
रोजगारी सिर्जनालाई आफ्नो अभियानको केन्द्रमा राख्दै न्यौपानेले कामको सिर्जना गरेर युवालाई स्वदेशमै अवसर दिने प्रतिबद्धता जनाए। “काम सिर्जना गरेर रोजगारीसँग जोड्नेछौं। सम्भावना भएका क्षेत्र पहिचान गरिन्छ,” उनले भने।
उनका अनुसार कृषि, ऊर्जा, पर्यटन, साना उद्योग र सेवा क्षेत्रमा लगानी बढाएर रोजगारीका अवसर विस्तार गर्न सकिन्छ। युवालाई विदेश पलायन हुनबाट रोक्न स्थानीय स्तरमै अवसर उपलब्ध गराउनु आवश्यक रहेको उनले बताए।


