धनगढी — मोहन बैद्य निकट विद्यार्थी संगठन अखिल क्रान्तीकारीका सुदूरपश्चिम संयोजक पुष्कर जोशी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। धनगढीमा आयोजित एक कार्यक्रमबीच जोशीले पुस्पकमल दाहाल (प्रचण्ड) को हातबाट खादा तथा टीका ग्रहण गर्दै पार्टी प्रवेश गरेका हुन्। कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य, प्रदेशस्तरीय नेताहरू, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
पार्टी प्रवेशपछि जोशीले देशभर छरिएर रहेका कम्युनिस्ट शक्तिहरूलाई एउटै धारमा ल्याउनुपर्ने आवश्यकता औंल्याए। उनले वैचारिक स्पष्टता र संगठनात्मक एकतामार्फत बलियो वाम ध्रुव निर्माण गर्नुपर्नेमा जोड दिए। “अब देशका सबै कम्युनिस्ट पार्टीहरूको केन्द्र नेकपा बन्नुपर्छ,” उनले भने, “जनताको अधिकार र समृद्धिका लागि एकताबद्ध कम्युनिस्ट शक्ति अपरिहार्य छ।” जोशी लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। सुदूरपश्चिममा संगठन विस्तार, प्रशिक्षण तथा विभिन्न आन्दोलनका कार्यक्रम सञ्चालनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनको प्रवेशले सुदूरपश्चिममा नेकपाको संगठनात्मक संरचना थप सुदृढ हुने विश्वास पार्टी नेताहरूले व्यक्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तनका एजेन्डा सफल बनाउन वाम शक्तिहरूबीच सहकार्य र एकता आवश्यक रहेको बताए। उनले युवापुस्ताको सहभागितालाई प्राथमिकता दिँदै पार्टीलाई नयाँ उर्जा दिनुपर्ने धारणा राखे।


