डोटीः डोटीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले आफू निर्वाचित भएपछि कैलालीको खुटियादेखि डोटीको दिपायल हुँदै बझाङमा चीनसँगको उरई भञ्ज्याङ नाका जोड्ने ‘फास्ट ट्रयाक’ निर्माणलाई अगाडि बढाउने प्रतिवद्धता जनाएका छन्।
आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दै भट्टले संघीय सरकारअन्तर्गत रहेको यो योजना कार्यान्वयनका लागि जनप्रतिनिधिका रुपमा आफूले पहल गर्ने उल्लेख गरे। उनले आफू मुख्यमन्त्री हुँदा प्रदेश मन्त्रिपरिषद बैठकले निर्णय गरेरै यो सडकलाई भारत र चीनको सीमाना जोड्ने त्रिदेशीय सडकको रुपमा विकास गर्न संघीय सरकारलाई आग्रह गरेको बताए।
‘पहिले खुटिया–दिपायल फास्ट ट्रयाक भनेर सुरुवात गरिएको हो। म मुख्यमन्त्री हुँदा प्रदेश सरकारकै आग्रहमा संघीय सरकारले खुटिया–दीपायल हुँदै बझाङमा चीनसँगको उरै नाकासम्म जोड्ने गरी यो सडकको नामाकरण गर्दै अगाडि बढाउने निर्णय गरेको थियो’ भट्टले भने, ‘हामीले नै पहल गरेर ट्रयाक खोल्ने काम पूरा भएको हो।’ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएपछि यो सडकलाई अगाडि बढाउन आफूले सरकार र सदनमा आवाज उठाउने उनले बताए।


