धनगढी । राष्ट्रिय समाचार समिति ९रासस० को ६५औं वार्षिकोत्सवका अवसरमा सुदूरपश्चिममा आयोजित कार्यक्रममा सरोकारवालाहरूले पत्रकारिताको व्यावसायिकता, विश्वसनीयता र प्रविधिमैत्री सेवाको विस्तारमा जोड दिएका छन्। वक्ताहरूले राससलाई समयानुकूल परिमार्जन गर्दै मल्टिमिडिया पत्रकारितातर्फ उन्मुख गरिनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्कीले पत्रकारिता राज्यको चौथो अंग भएको बताउदैँ यसले सरकारलाई सचेत गराउने, जनताको आवाज बोल्ने र सुशासन प्रवर्द्धन गर्ने महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले प्रदेश सरकारले ‘आम सञ्चार विधेयक’ प्रदेश सभामा दर्ता गरिसकेको जानकारी दिँदै यसले सञ्चार क्षेत्रलाई थप व्यवस्थित र उत्तरदायी बनाउने विश्वास व्यक्त गर।
राससको भवन निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए। उनले पत्रकारहरूको वृत्तिविकासका लागि २५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरी यसबाट पत्रकारहरूको क्षमता अभिवृद्धि र पेशागत सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरिएका छन्।
कार्यक्रममा सहभागी पत्रकारहरूले राससलाई परम्परागत शैलीबाट मुक्त गरी अडियो, भिडियोसहितको मल्टिमिडिया सेवामा रूपान्तरण गर्नुपर्ने सुझाव दिएका छन्। महासंघका प्रदेश महासचिव शिवराज भट्टले राससमा हुने राजनीतिक नियुक्तिको अन्त्य गरी व्यावसायिक र पूर्णकालीन पत्रकारलाई मात्र जिम्मेवारी दिनुपर्नेमा जोड दिनुपर्ने बताएका हुन ।
पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल हुने र भ्युज बढाउने होडबाजीले पत्रकारिताको मर्यादामा असर पुर्याएको पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउबाले बताए । सम्पादन नगरिएका सामग्रीहरू सिधै सामाजिक सञ्जालमा प्रकाशन गर्ने प्रवृत्तिले पत्रकारितामाथि आक्रमण बढाइरहेको उनीले बताए । तथ्यपरक, सन्तुलित र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
आसन्न निर्वाचनलाई लक्षित गर्दै पत्रकारहरूले कुनै पनि राजनीतिक दलको प्रभावमा नपरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने उनले बताए। सन्तुलित र निष्पक्ष समाचार सम्प्रेषण पत्रकारको मूल दायित्व भएको कारण आचारसंहिता उल्लंघन गरी एकपक्षीय प्रचारप्रसारमा संलग्न भए त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै वहन गर्नुपर्ने चेतावनी समेत उनले दिए।
सहभागीहरूले राससलाई आगामी दिनमा अझ परिष्कृत, प्रविधिमैत्री र विश्वसनीय राष्ट्रिय समाचार एजेन्सीका रूपमा स्थापित गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।


