महेन्द्रनगर: सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सुदूरपश्चिम विश्वविद्यालयको आयोजनामा ‘सम्पदा, नवप्रवर्द्धक र रूपान्तरण’ विषयमा मंगलबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको हो । सुदूरपश्चिम विश्वविद्यालयका उपपकुलति डा। हेमराज पन्तले अनुसन्धानका क्षेत्रका अनुभवी अन्तर्राष्ट्रिय विज्ञ, वैज्ञानिकसहितका स्रोत व्यक्तिहरूको उपस्थितिमा सम्मेलन हुन लागेको बताए । सम्मेलनमा विभिन्न २३ देशका प्रोफेसर, विज्ञ, अनुसन्धानकर्मीले तयार पारेका प्रतिवेदन प्रस्तुत गर्दै आएका आपसमा अनुभव आदानप्रदान गर्नेछन्।
सम्मेलनको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्राज्ञिक थलोको रूपमा रहेको सुदूर कस्तुरी रहेको बताए । प्रदेश प्रमुख मियाँले सुदूरको प्राज्ञिक वृद्धि विकासका लागि समेत सम्मेलन फलदायी हुने बताए । सम्मेलन कोठाभित्र सीमित नभई बाह्य समाज सुधारका लागि समेत प्रयोगमा जोड दिएका छन् ।
सम्मेलनका संयोजक भट्टले यसअघि सम्पन्न भएका दुई अन्तर्राष्ट्रिय सम्मेलनको सफलतासँगै तेस्रो पनि गर्न लागेको बताए । यसअघि सन ०२२, ०२५ र अहिले ०२६ मा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको बताए । यसपटक पनि अन्तर्राष्ट्रिय सम्मेलन गरेर सुदूरपश्चिम विश्वविद्यालयको शैक्षिकस्तर वृद्धिमा टेवा पुर्याउने बताए । ‘यो सम्मेलन शैक्षिक क्षेत्रको अनुभव आदान प्रदान गर्ने थलोका रूपमा समेत रहेको छ,’ उनले भने, ‘यसअघि सारेका दुई सम्मेलनले अनुभव लिएका छौँ ।’ कार्यक्रममा आठ मुख्य, २५ सबविषयवस्तुमा छलफल गरिनेछन् । ‘हामीकहाँ सम्पर्कमा आएका तीन सय रिसर्च पेपरमध्ये दुई सयजति रजिस्टर भएका छन्, उनीहरूले नै आ–आफ्नो अनुभवका विषयवस्तु प्रस्तुत गर्नेछन्,’ उनले भने ।
समाज, विज्ञान, इन्जिनियरिङ, कृषि, प्राकृतिक स्रोतसाधन, स्वास्थ्य, जनसंख्या, योजना, जलवायु परिवर्तन, व्यापारसहितका विषयमा घनीभूत छलफल हुनेछन्। ‘यस कार्यक्रमबाट विश्वभरिको नेटवर्क विस्तार गर्न खोजिएको छ,’ उनले भने, ‘सम्मेलनमा उठान हुने विषयले एक–आपसमा ज्ञान आदान–प्रदानले हामीलाई पनि नयाँ सिकाइ हुनेछ ।’ कार्यक्रम संयोजकसमेत रहेका भट्टले समाज, विज्ञान प्रविधि, कृषि, स्वास्थ्य, योजना, नीति, शिक्षा, वातावरण, व्यवस्थापन सिप विकाससहितका विविध विषयमा प्रस्तुतीकरण हुने बताए ।
कार्यक्रमका सहसंयोजकसमेत रहेका प्राध्यापक मदनसिंह देउवाले विश्वविद्यालयलाई अनुसन्धान गर्ने मार्गका रूपमा समेत सम्मेलन लाभदायक हुने बताए। उनले विश्वभरिका विज्ञबाट हुने कार्यपत्र प्रस्तुतीकरणमा सुदूरपश्चिमका विद्यार्थी, प्राध्याकहरूलाई समेत भावी दिनमा नयाँ विषयमा आइडिया आउने बताए । कार्यक्रम सहसंयोजकसमेत रहेका सुदूरपश्चिम विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका उपप्राध्यापक डा। दीपकप्रकाश भट्टले ज्ञान, अनुभव आदानप्रदानका लागि सम्मेलन सार्थकता हुने बताए ।


