बुटवल: नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दका क्रममा भैरहवास्थित लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ। बोराभित्र राखिएको उक्त वस्तुको बाहिरी भागमा ‘नेपाल बन्द सफल पारौं’ लेखिएको कागज टाँसिएको थियो। शंकास्पद वस्तु देखिएपछि केही समयका लागि उक्त सडक खण्डमा सवारी आवागमन अवरुद्ध गरिएको थियो।
नेपाली सेनाको टोलीले उक्त वस्तु डिस्पोज गरेपछि क्यान बियरको बोतलभित्र माटो र ढुंगा राखेर सर्वसाधारणलाई त्रसित पार्ने उद्देश्यले राखिएको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। त्यस्तै अंचलपुरमा भेटिएको अर्को शंकास्पद वस्तु रंग राख्ने सानो बाल्टिन ९डब्बा० भित्र पराल राखिएको अवस्थामा थियो । फागुन २१ गते हुने निर्वाचन बहिष्कारको आह्वान गर्दै सो पार्टीले नेपाल बन्द घोषणा गरेको हो। बन्दका कारण जिल्लाका शिक्षण संस्थाहरू बन्द रहेका छन्। सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छैनन् भने बजार आंशिक रूपमा खुलेका छन्।

