धनगढी: धनगढी उपमहानगरपालिकाले गत वर्षदेखि ग्रासरुट स्तरीय फुटबल कार्यक्रम सुरू गरेको छ। गत वर्ष चार विद्यालयबाट सुरू गरिएको ग्रासरुट स्तरीय फुटबल कार्यक्रम यो वर्ष थप १२ स्थानमा सुरू भएको छ। यो वर्ष उपमहानगरपालिकाले ग्रासरुट स्तरीय फुटवल कार्यक्रम थप वडामा विस्तार गरेको हो।
यो वर्षको कार्यक्रम फागुन १ गतेदेखि सुरू भएको हो। धनगढी उपमहानगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत वडाको कम्तिमा एक स्थानमा बालबालिकाहरूलाई फुटबल प्रशिक्षण दिन थालिएको छ। बालबालिकालाई पढाइसँगै खेलकुदमा समेत संलग्न बनाउन ग्रासरुट स्तरीय फुटबल कार्यक्रम सुरू गरिएको उपमहानगरपालिकाले जनाएको छ। गत वर्ष धनगढीका चार वडामा सुरू भएको ग्रासरुट स्तरीय फुटबल कार्यक्रम यो वर्षबाट थप १२ स्थानमा सुरू भएको हो।
धनगढी उपमहानगरपालिकाले हरेक वडामा फुटबल मैदान तयार गरेर ग्रासरुट स्तरीय फुटबल प्रशिक्षण दिन लागेको हो। धनगढीको विभिन्न स्थानमा २१ वटा फुटबल मैदान तयार गरिएको खेलकुद शाखा प्रमुख केशव खत्रीले बताए। ‘धनगढी उपमहानगरपालिकाले ग्रासरुट फुटबल र क्रीकेट सुरू गरेको छ। फुटबल खेल्न २१ वटा खेलमैदान तयार भएका छन्,’ खेलकुद शाखा प्रमुख खत्रीले बताए।
गत वर्ष धनगढी- ७ को राष्ट्रिय माध्यमिक विद्यालय, पटेला, वडा नम्बर ११ को दक्षिणकाली बहिरा आधारभूत विद्यालय र ठेकराज माध्यमिक विद्यालय, वडा नम्बर १६ को घसिटा तथा वडा नम्बर १८ को चन्द्रोदय माध्यमिक विद्यालयमा ग्रासरुट स्तरीय फुटबल कार्यक्रम सुरू भएको हो। यो वर्ष वडा नम्बर १ को कभर्डहल खेल मैदान, वडा नम्बर २ को सुक्ष्म वर्गीकरण केन्द्र नजिकको मैदान, वडा नम्बर ३ को प्रस्तावित नयाँ बसपार्कको खैल मैदान तथा वडा नम्बर ५ को यातायात कार्यालय नजिकको श्रीकृष्ण खेल मैदानमा ग्रासरुट स्तरीय फुलबल प्रशिक्षण दिइने खेलकुद शाखा प्रमुख खत्रीले बताए।
यस्तै वडा नम्बर ६ को धनगढी पोलिटेक्निकको खेल मैदान, वडा नम्बर ७ को पटेला खेल मैदान, वडा नम्बर १२ को मनकामना युवा क्लवको खेलमैदान, वडा नम्बर १३ को जनता राष्ट्रिय माध्यमिक विद्यालय नजिकको खेल मैदान, वडा नम्बर १४ को टाउन प्लानिङकोफ खेल मैदान, वडा नम्बर १७ को पथरी पुल नजिकको मैदान, वडा नम्बर १८ को प्रस्तावित स्टेडियम खेल मैदान तथा वडा नम्बर १९ को सुर्मादेवी युवा क्लवको खेल मैदानमा ग्रासरुट स्तरीय फुलबल प्रशिक्षण हुनेछ।
प्रतिभाशाली फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले उपमहानगरले ग्रासरुट स्तरीय फुटबल कार्यक्रम सुरू गरेको जनाएको छ। कार्यक्रममा विद्यालय उमेरका बालबालिकाहरूलाई फुटबल खेल सम्बन्धी प्रविधिक र सैद्धान्तिक ज्ञान समेत दिइने छ। खेलमैदान रहेको क्षेत्रका फुटबल खेल्न इच्छुक सम्पूर्ण बालबालिकालाई प्रशिक्षण दिइने छ।
धनगढी उपमहानगरपालिकाले कैलाली जिल्ला फुटबल संघसँग सम्झौता गरेर प्रशिक्षणको जिम्मा दिएको छ। यो वर्ष करिब पाँच हजार बालबालिकालाई फुटबल प्रशिक्षण दिने लक्ष्य रहेको उपमहानरपालिकाले जनाएको छ।
खेलकुद शाखा प्रमुख खत्रीले यो वर्ष धनगढीको १९ वटै वडामा ग्रासरुट स्तरीय फुटवल कार्यक्रम चलाउने योजना रहेको बताएका छन्। उनले सबै वडामा प्रशिक्षण दिएपछि १९ वटा टिमबीच प्रतियोगिता गराएर उत्कृष्ट खेलाडी समेटेर उपमहानगरपालिकाको फुटबल टिम तयार गरिने बताए।


