धनगढी – राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल को आयोजनामा सुदूरपश्चिम प्रदेशका विभिन्न दोजोका सिनियर खेलाडी, प्रशिक्षक तथा कोचहरूका लागि एक दिने कराते प्रशिक्षण तथा खेल सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रदेशभरका करिब १२ वटा दोजोबाट झण्डै १५० जना खेलाडी तथा कोचहरूको सहभागिता रहेको थियो। प्रशिक्षण सेमिनारमा संघका केन्द्रिय महासचिव तथा प्रमुख प्रशिक्षक प्रकाश कुमार चन्द ले विशेष प्रशिक्षण प्रदान गर्नुका साथै आवश्यक खेल सामग्री हस्तान्तरण गरेका थिए।

कार्यक्रमका क्रममा दोजो कोचहरूलाई संघको तर्फबाट कोच टिसर्ट समेत प्रदान गरिएको थियो। साथै, ब्ल्याक बेल्ट परीक्षामा उत्तीर्ण भएका सम्पूर्ण खेलाडीहरूलाई ब्ल्याक बेल्ट प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ।
संघले यस्ता कार्यक्रमले खेलाडीहरूको सीप अभिवृद्धि, अनुशासन विकास तथा प्रदेशस्तरमा कराते खेलको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।


