धनगढी: दार्चुलाको सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत हवल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा मुख्य योजनाकार आशिष पाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी गौरब महतका अनुसार आशिष पाललाई दुहुँ गाउँपालिकाको जंगलबाट पक्राउ गरिएको हो। यसअघि मंगलबार राति राजेन्द्र डडाललाई नौगाडको होपरिगाडबाट नियन्त्रणमा लिइएको थियो।
घटनामा संलग्न अन्य दुई व्यक्तिहरूको खोजी प्रहरीले तीव्र पारेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, २० वर्षीया दीपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई घटनापछि पक्राउ गरिएको थियो। तर, अस्मिता बियर बारका सञ्चालक जानकी पाल र मनिस पाल अझै फरार रहेको प्रहरीले जनाएको छ। मृतकको शवको पोस्टमार्टम जिल्ला अस्पताल दार्चुलामा सम्पन्न भइसकेको छ। पोस्टमार्टम रिपोर्ट अनुसार हवल्दार घर्तीको टाउकोमा आठ ठाउँमा धारिलो हतियार प्रहार गरिएको थियो। डाक्टर रविन्द्र भट्टराईका अनुसार प्रहार पछाडिबाट गरिएको थियो।
महाकाली नगरपालिका–४ बङ्गाबगड रिङगलताल नजिक जानकीले पूजा बियरबार सञ्चालन गर्दै आएका थिए। मृतक हवल्दार घर्ती ड्युटीमा जाने क्रममा उनकी हत्या भएको पुष्टि भएको छ।


