धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका यज्ञराज ढुगांनाले आफू बिगत लामो समयदेखि निरन्तर नागरिक सेवामा सक्रिय रहेको बताउँदै अब थप जिम्मेवारी दिएर सेवा गर्ने अवसर दिन आग्रह गरेका छन्। क्षेत्र नम्बर ५ का विभिन्न स्थानमा मतदाता भेटघाट तथा चुनावी कार्यक्रममा सहभागी हुँदै उम्मेदवार ढुगांनाले स्वास्थ्य शिविर सञ्चालन, अस्पतालमा छुट, तथा निःशुल्क उपचार जस्ता कार्यक्रममार्फत जनताको सेवामा केन्द्रित रहँदै आएको उल्लेख गरे। उनले बिगतमा गरेका कामको मूल्यांकन गरी आगामी फागुन २१ गते सूर्य चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरे।
“अहिले चुनावी माहोलमा विभिन्न व्यक्तिहरूले अनेक प्रलोभन देखाउन सक्छन्,” ढुगांनाले भने, “तर मतदाताले क्षणिक प्रलोभन होइन, बिगत, वर्तमान र भविष्य हेरेर मतदान गर्नुपर्छ।” उनले आफूले बिगतमा गरेका सेवाको एकपटक मूल्यांकन गर्न र अब गर्नुपर्ने जिम्मेवारी सुम्पिन आग्रह गरे। ढुगांनाले नेकपा एमालेविरुद्ध देशभर भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसलाई देशभक्त शक्ति कमजोर पार्ने उद्देश्यका रूपमा व्याख्या गरे। “एमाले देशभक्त पार्टी हो, राष्ट्रहितका विषयमा सधैं प्रतिवाद गर्ने शक्ति एमाले नै हो,” उनले दाबी गरे।
“पार्टी ठीक छ र पार्टीले मलाई सेवा गर्न टिकट दिएको छ,” ढुगांनाले भने, “अब तपाईँहरूले जिम्मेवारी दिनु भयो भने म जनताको सेवामा समर्पित भएर काम गर्न तयार छु।” उनले यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, पुल, सडक तथा अन्य पूर्वाधार विकास र समग्र सामाजिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


