धनगढी । आसन्न निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले बाजुराको कोल्टीमा निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ। निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमाण्डमा उक्त बेस क्याम्प स्थापना गरिएको हो। माघ २१ गते बुधबार बुढीनन्दा नगरपालिकाका उपमेयर रामबहादुर बोहरा, प्रमुख प्रशासकीय अधिकृत सन्तोष शाह, सशस्त्र प्रहरी बल नेपाल गुल्म बाजुराका सशस्त्र प्रहरी नायब उपरीक्षक खडकबहादुर शाही तथा गुल्मका विभिन्न सशस्त्र प्रहरी अधिकृतहरूको उपस्थितिमा बेस क्याम्पको औपचारिक स्थापना गरिएको हो।
बेस क्याम्पको स्थापना शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सुनिश्चित गर्ने राज्यको प्रतिबद्धताको स्पष्ट अभिव्यक्ति भएको बताइएको छ। सुरक्षा बेस क्याम्पको स्थापनाले आगामी निर्वाचन प्रक्रिया भयरहित, मर्यादित र कानुनसम्मत रूपमा सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, यसले स्थानीय जनताको सुरक्षा अनुभूति बढाउनुका साथै राज्यको सुरक्षा संयन्त्रलाई थप प्रभावकारी र सुदृढ बनाउने विश्वास लिइएको छ।


