धनगढी । ज्येष्ठ नागरिकलाई सम्मान, सहयात्रा र सहज यात्राको अनुभूति गराउने उद्देश्यले सञ्चालन हुँदै आएको सार्वजनिक बसमा एक सिट निःशुल्क अभियान थप विस्तार गरिएको छ। अभियानअन्तर्गत बिहिवार देखि थप ४ वटा सार्वजनिक बस सेवा सञ्चालनमा आएका छन्।
अभियानका संयोजक अमर बहादुर बिस्टका अनुसार धनगढी–भजनी–जोशिपुर, धनगढी–टिकापुर तथा धनगढी–राजापुर (बर्दिया) रुटमा सञ्चालन हुने बसहरूले अब ज्येष्ठ नागरिकलाई एक सिट निःशुल्क उपलब्ध गराउनेछन्। यसअघि विभिन्न रुटमा १२ वटा बस मार्फत सेवा दिइँदै आएको थियो भने अब यो संख्या बढेर १६ वटा पुगेको छ।
सेवामा समावेश भएका थप बसहरूमा से १ ख १६६१, से १ ख २१५३, ना ५ ख ८५८९ र सु.प.प्र. ०१–००१ ख ३५८३ नम्बरका बस रहेका छन्।
कार्यक्रममा अभियानप्रति सकारात्मक सोच राख्दै यातायात व्यवसायी नर बहादुर बी.क. ले आफ्ना २ वटा बसमार्फत अभियानमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी धनगढी–जोशिपुर रुटमा सञ्चालन भएको बसका सञ्चालक हेमन्त जोशी ले अभियानमा जोडिन पाउँदा खुशी व्यक्त गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्न पाएको अनुभूति भएको बताउनुभयो।
कार्यक्रमकै दिन अभियानको मानवीय पक्षलाई व्यवहारमा उतार्दै सञ्चालक जोशीले एक जना ज्येष्ठ नागरिकलाई धनगढीबाट जोशिपुरसम्म निःशुल्क यात्रा गराउनुभएको थियो, जसले उपस्थित सबैलाई भावुक बनाएको थियो। अभियान संयोजक बिस्टले समाजमा सकारात्मक सन्देश फैलाउने यो अभियानमा सबै यातायात व्यवसायीहरूलाई सामाजिक उत्तरदायित्वको भावना राख्दै जोडिन आग्रह गर्नुभएको छ।
“ज्येष्ठ नागरिक हाम्रो समाजका अमूल्य सम्पत्ति हुन्, उनीहरूलाई सम्मान र सहयात्राको अनुभूति गराउनु नै यो अभियानको मुख्य उद्देश्य हो,” बिस्टले भन्नुभयो। ज्येष्ठ नागरिकप्रति सम्मान र सहयोगको भावनाले प्रेरित यो अभियानले समाजमा सकारात्मक सोच विकास गर्ने विश्वास आयोजकहरूको रहेको छ।

