धनगढी । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरूमा क्रियाशील स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विश्वविद्यालय प्रशासनसमक्ष संयुक्त रूपमा २० बुँदे मागसहित ज्ञापन–पत्र बुझाएका छन्। स्ववियु निर्वाचन सम्पन्न भएसँगै विद्यार्थी प्रतिनिधित्व गर्दै क्याम्पसस्तरमा देखिएका समस्या, शैक्षिक गुणस्तर, परीक्षा प्रणाली र प्रशासनिक व्यवस्थापन सुधारका विषयमा विश्वविद्यालयको ध्यानाकर्षण गराइएको हो।
स्ववियुका पदाधिकारीहरूले विद्यार्थी हित, शैक्षिक वातावरण सुधार तथा दीर्घकालीन समाधानका लागि विश्वविद्यालयको अग्रसरता आवश्यक रहेको जनाउँदै तत्काल सम्बोधन गर्नुपर्ने र दीर्घकालीन रूपमा सुधार गर्नुपर्ने मागहरू प्रस्तुत गरेका हुन्। उनीहरूले मागहरू व्यवहारिक, न्यायोचित र विद्यार्थीमैत्री रहेको उल्लेख गर्दै विश्वविद्यालयले सकारात्मक पहल गर्ने विश्वास व्यक्त गरेका छन्।
मुख्य मागहरू के–के छन् ?
ज्ञापन–पत्रमा उल्लेख गरिएका प्रमुख मागहरू यस प्रकार छन्–
-
परीक्षाको Re-totaling प्रक्रिया अनलाइनमार्फत समेत दिन सकिने व्यवस्था गर्न
-
विश्वविद्यालयले MOU गरेका संघ–संस्थासँग विद्यार्थीका लागि Student Exchange, Internship, Interaction जस्ता कार्यक्रम सञ्चालन गर्न
-
नतिजा प्रकाशनमा Relative Grading System लागू गर्न
-
स्ववियु प्रतिनिधिलाई क्याम्पस र विश्वविद्यालयका विभिन्न समितिहरूमा अनिवार्य सहभागिता गराउन
-
शैक्षिक क्यालेन्डरअनुसार परीक्षा सञ्चालन र नतिजा प्रकाशन सुनिश्चित गर्न
-
केही क्याम्पसमा अध्यापन गरिरहेका शिक्षकहरूको अनियमितता र गैर–शैक्षिक गतिविधिमाथि कडाइ गर्न
-
सेमेस्टर अन्त्यका परीक्षाबीचको अन्तराल (Gap) घटाई परीक्षा तालिका व्यवस्थित बनाउन
-
भर्ना र शैक्षिक शुल्क अनलाइनमार्फत बुझाउने व्यवस्था गर्न
-
Mid-Term Exam अनिवार्य गरी त्यसको नतिजा अन्तिम Marksheet मा समावेश गर्न
-
Online Exam Form System थप प्रभावकारी बनाउन
-
वार्षिक कार्यक्रम, खेलकुद सप्ताह लगायतका गतिविधि समेटेर शैक्षिक क्यालेन्डर प्रकाशन गर्न
-
प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका जाँच तथा आन्तरिक मूल्याङ्कनमा देखिने त्रुटि सच्याउन
-
स्ववियु नेतृत्व विकासका लागि FSU Leaders Conference आयोजना गर्न
-
क्याम्पसको अतिक्रमित जग्गा फिर्ता गराउन पहल गर्न
-
दुर्गम क्षेत्रका विद्यार्थीलाई Transcript र Provisional Certificate छिटो र सहज रूपमा उपलब्ध गराउन
-
विश्वविद्यालय सेवा आयोगलाई सक्रिय बनाउँदै शिक्षक अभाव समाधान गर्न
-
आकस्मिक समस्या परेका विद्यार्थीका लागि राहत कोषको व्यवस्था गर्न
-
स्ववियुसँग नियमित संवाद र विद्यार्थी गुनासो सुन्ने छुट्टै संयन्त्र स्थापना गर्न
-
गोदावरी बहुमुखी क्याम्पसमा गणित विषयका शिक्षक अभाव तुरुन्त समाधान गर्न
-
स्नातक उत्तीर्ण विद्यार्थीका लागि Placement Cell स्थापना गर्न
-
ज्ञापन–पत्रमा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी लगायत सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका बहुमुखी क्याम्पसहरूका स्ववियु अध्यक्ष तथा प्रतिनिधिहरूको संयुक्त हस्ताक्षर रहेको छ। स्ववियु नेतृत्वले विश्वविद्यालय प्रशासनले मागहरूलाई गम्भीरतापूर्वक लिई समयमै सम्बोधन नगरे चरणबद्ध रूपमा थप दबाबमूलक कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिएका छन्।

