धनगढी — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) गोदावरी नगर कमिटीको सातौँ बैठकले ६०१ सदस्यीय नगरस्तरीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ। गोदावरीमा आज सम्पन्न बैठकले सर्वसम्मत रूपमा उक्त निर्णय गरेको हो।
बैठकले एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा गोदावरी इन्चार्ज खम्म बुढालाई कमिटीको संयोजक र गोदावरी नगर कमिटी अध्यक्ष सन्तोष सिंहलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। सचिव सिंहका अनुसार गठित कमिटीले प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउने लक्ष्यका साथ पार्टीको निर्वाचन तयारीलाई तीव्र बनाउनेछ। साथै, संगठन सुदृढीकरण, वडा–वडामा प्रभावकारी प्रचार–प्रसार, मतदाता भेटघाट तथा जनसम्पर्क अभियान सञ्चालन गर्ने कार्यमा कमिटी सक्रिय रहने बताइएको छ।
बैठकमा नेकपा (एमाले) का केन्द्रिय सदस्य सन्तोष शर्मा थापा, समानुपातिक उम्मेदवार हरि शंकर योगीसहित प्रदेश, जिल्ला, नगर तथा वडा तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यसैबीच, नेकपा (एमाले) ले कैलाली–४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट पार्टीका उपमहासचिव लेखराज भट्टलाई उम्मेदवार बनाइसकेको छ। गोदावरी नगरमा गठन गरिएको परिचालन कमिटीले कैलाली–४ मा पार्टीको जित सुनिश्चित गर्न संगठित रूपमा अभियान सञ्चालन गर्ने नेताहरूले बताएका छन्।
एमाले गोदावरी नगर कमिटीले निर्वाचनलाई लक्षित गर्दै आगामी दिनमा घरदैलो कार्यक्रम, जनसभा, प्रशिक्षण तथा विभिन्न प्रचारात्मक गतिविधिहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

