धनगढी — सशस्त्र प्रहरी बल नेपाल स्थापनाको २५ औँ वर्ष पूरा भएको अवसरमा मनाइएको रजत जयन्ती तथा स्थापना दिवसको उपलक्ष्यमा बाजुरा जिल्लामा कार्यरत दुई जना सशस्त्र प्रहरी नायब निरीक्षक सम्मानित भएका छन्। सशस्त्र प्रहरी बल नेपाल, बाजुरा गुल्मद्वारा आयोजित विशेष कार्यक्रममा सशस्त्र प्रहरी नायब निरीक्षक दानबहादुर बिष्ट र बिरेन्द्र पेला उत्कृष्ट सेवाका लागि पुरस्कृत भएका हुन्। उनीहरूलाई २५ औँ रजत जयन्तीको अवसरमा प्रदान गरिने सिल्भर जुब्ली कमाण्डेसन पदक सहित सम्मान गरिएको छ।
कार्यक्रममा गुल्मपति खडक बहादुर शाहीले पुरस्कृत दुवै प्रहरी कर्मचारीलाई प्रमाणपत्र र पदक प्रदान गर्दै उनीहरूको सेवा, समर्पण र जिम्मेवारीप्रति उच्च मूल्याङ्कन गर्नुभयो। गुल्मपति शाहीले कठिन भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिमा समेत जिम्मेवारीपूर्वक काम गर्ने प्रहरी कर्मचारीहरू संगठनका लागि गर्वको विषय भएको उल्लेख गर्नुभयो। बाजुरा जस्तो दुर्गम जिल्लामा शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सीमा सुरक्षा तथा सामुदायिक सहकार्यमा पुरस्कृत दुवै सशस्त्र प्रहरी नायब निरीक्षकले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्। उनीहरूको अनुशासित कार्यशैली, इमान्दार सेवा र संगठनप्रतिको निष्ठालाई कदर गर्दै यो सम्मान प्रदान गरिएको जनाइएको छ।
रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका विभिन्न तहका अधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संगठनको २५ वर्षे यात्राको समीक्षा गर्दै भावी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।


