धनगढी — कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागी नेता इश्वरी बिष्टले चुनाव चिन्ह ‘आँप’ पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई आँप चुनाव चिन्ह प्रदान गरेको हो। रास्वपाबाट टिकट नपाएपछि बिष्टले बागी उम्मेदवारी दिएका हुन्। चुनाव चिन्ह पाएसँगै उनले आफ्नो उम्मेदवारीलाई वैकल्पिक राजनीति र जनमुखी एजेन्डाको निरन्तरताका रूपमा प्रस्तुत गर्दै मतदातासँग साथ र समर्थनको अपिल गरेका छन्।
बिष्ट यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि कैलाली–५ बाट उम्मेदवार बनेका थिए। पार्टीको संगठन सुदृढ नभएको अवस्थामा समेत उनले ३ हजार ४ सय ३५ मत प्राप्त गरेका थिए, जसलाई राजनीतिक वृत्तमा उल्लेख्य उपलब्धिका रूपमा हेरिएको थियो। सो नतिजाले स्थानीय तहमा उनको व्यक्तिगत पकड र जनसमर्थन देखाएको विश्लेषण गरिँदै आएको छ। रास्वपाका पूर्व धनगढी सभापतिसमेत रहेका बिष्टले पार्टी संगठन विस्तार, जनस्तरसम्म पार्टीको विचार पुर्याउने काम र प्रत्यक्ष जनसम्पर्कमा सक्रिय भूमिका निर्वाह गरेका थिए। स्थानीय राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका उनले घरदैलो अभियान, प्रत्यक्ष संवाद र मुद्दा–आधारित राजनीतिक अभियानलाई प्राथमिकतामा राख्दै आएका छन्।
उम्मेदवारी दर्तापछि बिष्टले राष्ट्र, राष्ट्रियता, स्वाधीनता र लोकतन्त्रको संरक्षणका लागि आफू चुनावी मैदानमा उत्रिएको बताएका थिए। उनले शोषणकारी पूँजीवादका विरुद्ध आवाज उठाउँदै, जनताको अधिकार, सुशासन र सामाजिक न्यायका पक्षमा आफ्नो उम्मेदवारी केन्द्रित रहेको स्पष्ट पारेका छन्। चुनाव चिन्ह प्राप्त भएसँगै बिष्टले आफ्नो अभियानलाई “वैकल्पिक राजनीतिक धारको विद्रोह” का रूपमा व्याख्या गर्दै मतदातालाई आफ्नो विद्रोहमा साथ दिन आग्रह गरेका छन्। आगामी दिनमा कैलाली–५ को चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।


